२०८३ कार्तिक २५ गते मङ्गलबार

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २५
photo-16_54fdac65

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको उनीहरूको भनाइ छ।

काठमाडौँस्थित त्रिपुरेश्वरमा ४० वर्षदेखि सञ्चालनमा रहेको बाग्मती स्विट्सका व्यवसायी शिवराम खत्रीले तिहारमा हुनुपर्ने व्यापार यस वर्ष सामान्य रहेको बताए। उनले उपभोक्ताको संख्या बढे पनि मिठाई खरिद गर्ने परिमाण घटेको बताए।

उनले भने, ‘उपभोक्ताले क्वान्टिटी इकाई कम भयो। उपभोक्ताको संख्या बढेको छ तर लाने इकाई कम छ। पहिले मान्छेले एक किलो किन्थे भने आधा किलो, आधा किलो लानेले २०० ग्राम छ।’

खत्रीका अनुसार बाग्मती स्विट्समा नेपाली परम्परागत मिठाईदेखि आधुनिक मिठाईसम्म उपलब्ध छन्। रोड खजुरी, अनरसा, लाखामरीलगायत परम्परागत मिठाईसँगै बर्फी, कलाकन्द, लालमोहन, रसबरी, रसमरी र दूधभरी बिक्री हुँदै आएका छन्।

उनले भने, ‘हामीसँग भएको नेपाली मिठाई, पुरानो रोड खजुरी, अनरसा, लाखामरीदेखि लिएर अब आधुनिक मिठाई बर्फी, कलाकन्द, लालमोहन, रसभरी, रसमरी, दूधभरी छ। अहिले आधुनिक मिठाईहरू पनि, प्राचीन पुरानो खालको मिठाई पनि बिक्छ।’

पछिल्लो समय उपभोक्तामा मिठाईको गुणस्तर र उपभोग अवधिबारे सचेतना बढेको उनको अनुभव छ। लामो समयसम्म राखेर खान मिल्ने खजुरी र लाखामरीसँगै तत्काल उपभोग गर्नुपर्ने दूधबाट बनेका मिठाई पनि ग्राहकले किन्ने गरेका छन्।

उनले भने, ‘अहिले मान्छेहरूले अब पहिलाको भन्दा अहिले अलि टाढा लानुपर्ने छ, अलि दिनपछि खाए पनि हुन्छ भनेर यस्तो रोड खजुरीहरू, लाखामरीहरू पनि लाने हुनुहुन्छ। अब आजभोलि पर्सिमा सिध्याउनुपर्छ, अहिले दूधको मिठाई बर्फी सर्फी लैजाऊ, यसलाई खाएर सिध्याइहाल्नुपर्छ भन्ने चेतना भयो। पहिलाको भन्दा ग्राहकमा चेतना आएको छ।’

खत्रीले पछिल्लो तीन वर्षदेखि मिठाईको मूल्य नबढाएको बताए। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढे पनि त्यसको असर तत्काल ग्राहकमा नपरोस् भनेर मूल्य समायोजन नगरेको उनको भनाइ छ।

उनले भने, ‘ दैनिक उपभोगका वस्तुहरू किन्दाखेरि सबै कुराको भाउ त बढेको छ तर हामीले त्यतिमा बेचेको छैनौँ। हामीले एउटा क्षणिक दुई चार महिनाको लागि भाउ बढ्दैमा त्यसलाई बढाउनु हुँदैन बरु हामीले त्यसलाई खप्नुपर्छ अथवा थेग्नुपर्छ भन्ने हिसाबले नबढाएको हो।’

बाग्मती स्विट्समा मिश्रित मिठाई प्रतिकिलो एक हजार ३०० रुपैयाँ र मैदा तथा घिउबाट बनेका मिठाई प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए। निम्कीलगायतका परिकार भने ३० देखि ४० रुपैयाँसम्ममा उपलब्ध रहेको उनको भनाइ छ।

तिहारमा सेल, अनरसा, बर्फी र पेडालगायत मिठाईको माग हुने गरेको खत्रीले बताए। लक्ष्मीपूजाका बेला नबिग्रिने लड्डु, बर्फी र पेडाजस्ता मिठाई बढी बिक्री हुने गरेको तथा भाइटीकाका लागि पनि ग्राहकले मिठाई खरिद गर्ने गरेका छन्। त्यस्तै, विभिन्न कार्यालयले कर्मचारीलाई उपहार दिन र पसल सञ्चालकले आफ्ना ग्राहकलाई उपहार दिन मिठाई अर्डर गर्ने गरेको उनले जानकारी दिए।

यस्तै, ३२ वर्षदेखि सञ्चालनमा रहेको दूध सागर मिठाईका म्यानेजर लक्ष्मण अधिकारीले पनि पछिल्लो समय मिठाईको व्यापारमा विभिन्न कारणले उतारचढाव आएको बताए। उनका अनुसार मौसम, देशको परिस्थिति र राजनीतिक गतिविधिले समेत व्यापारमा प्रभाव पार्ने गरेको छ।

अधिकारीका अनुसार दूध सागरमा बंगाली मिठाईका साथै दक्षिण भारतीय परिकार पनि उपलब्ध छन्। दूधभरी, रसबरी, लालमोहन र बर्फी ग्राहकले बढी रुचाउने मिठाईमा पर्छन्। विगतमा मिठाईलाई अनिवार्य उपभोग्य वस्तुका रूपमा लिने गरिए पनि अहिले उपभोगको मात्रा केही घटेको उनको भनाइ छ।

उनले भने, ‘सबैभन्दा चलेको अहिले हाम्रो स्विट्समा दूधभरी, रसबरी, लालमोहन, त्यहाँबाट बर्फी आइटम। पहिला पहिला नेसेसरी मिठाई नै राख्नुपर्छ भन्ने हुन्थ्यो। अहिले अलि कम भएको तर पपुलेसन घट्दो नभएर बढ्दो भएर त्यति असर त परेको छैन।’

अधिकारीले पछिल्लो समय ग्राहकको स्वादमा समेत परिवर्तन आएको बताए। पहिले अत्यधिक गुलियो मिठाई मन पराउने ग्राहकले अहिले कम गुलियो र रसिला मिठाई बढी रुचाउने गरेको उनको अनुभव छ।

उनले भने, ‘पहिलाका ग्राहकहरूले गुलियो अत्यधिक रुचाउँथे। पहिलाका मान्छेले त्यति कम्प्रमाइज गर्दैनन्। अहिले स्विट्समा गुलियो कम भएको र रसिलो आइटमहरू त्यस्तो मन पराउँछ।’

कच्चा पदार्थको मूल्य बढ्दा पनि मिठाईको मूल्य समायोजन गर्न व्यवसायीलाई कठिन भइरहेको अधिकारीले बताए। उनका अनुसार कच्चा पदार्थको मूल्य तीन गुणासम्म बढे पनि मिठाईको मूल्य बढाउँदा ग्राहकबाट गुनासो आउने गरेको छ।

उनले भने, ‘म्याटेरियलको अत्यधिक महँगोमा खरिद गर्नुपर्ने हुन्छ। अहिले प्राइज अलिकति बढाउँदा पनि ग्राहकले प्राइज बेसी भयो। यता म्याटेरियलको तुलना त ग्राहकले गर्ने कुरो भएन। मैले मिठाईको आइटम बढाएँ भने महँगो भयो भन्ने हुन्छ। तर यता म्याटेरियल थ्री टाइम बढेको हुन्छ। हामीले जम्मा टु टाइम्स, वान टाइम्स बढाउँदा नि गुनासो ग्राहकको आउँछ।’

उनले दूध सागरले पनि विगत दुई वर्षदेखि मिठाईको मूल्य नबढाएको जानकारी दिए। हाल मिश्रित मिठाई प्रतिकिलो एक हजार ६०० रुपैयाँमा बिक्री भइरहेको छ। गुणस्तर, परिमाण र मूल्यलाई आधार मान्दा अन्य पसलको तुलनामा आफ्नो पसलको मूल्य कम रहेको उनको दाबी छ।

अधिकारीले तिहारका लागि अग्रिम तयारी गर्ने गरिएको बताए। दैनिक बिक्रीको तुलनामा दीपावलीका बेला ग्राहकको संख्या तीन गुणासम्म बढ्ने भएकाले कम्पनी तथा रेस्टुरेन्टबाट आउने अग्रिम अर्डरलाई प्राथमिकता दिने गरिएको उनले जानकारी दिए। दूध सागरले हालसम्म पसलबाट मात्रै मिठाई बिक्री गर्दै आएको र अनलाइन तथा सुपरमार्केटमार्फत बिक्री नगरेको पनि उनले बताए।

व्यवसायीहरूका अनुसार पुराना ग्राहक र लामो समयदेखि सञ्चालनमा रहेका पसलका कारण व्यापार धान्न सहज भए पनि बढ्दो कच्चा पदार्थको मूल्य र जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। अधिकारीले समग्र व्यवसायमा पहिलेको तुलनामा कठिनाइ बढेको बताए।

उनले भने, ‘हाम्रो अब पुरानोको नाताले पनि, हामीले धेरै वर्ष काम गरिरहेको नाताले पनि हामीलाई यसमा टिक्नमा त्यति गाह्रो भएको छैन। तर अहिलेको म्यानपावर र म्याटेरियल्स सबै हेर्ने हो भने अलिकति पहिलाको तुलनामा गाह्रो छ।’

प्रकाशित: २०८३ कार्तिक २५ गते मङ्गलबार ०८:०२
प्रतिक्रिया

थप समाचार

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना