काठमाडौं । अमेरिकी डलरसँग नेपाली रुपैयाँ निरन्तर अवमूल्यन हुँदै गएको छ। शनिबार डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले शनिबार एक डलरबराबर १४१.४२ रुपैयाँ बिक्रीदर तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो।
लामो समयदेखि नेपाली रुपैयाँ (नेरु) को भारतीय रुपैयाँ (भारु) सँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु कमजोर हुन गएको हो । डलरसँग नेरु कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
भारतीय रिजर्व बैंक (आरबीआई) ले शनिबार एक डलरबराबर ८८.१५ भारु कायम गरेको छ। अमेरिकाले भन्सारदर (ट्यारिफ) बढाएर दोब्बर बनाएपछि भारु कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा पर्न गएको हो।
भारत निर्यात हुने वस्तुमा ५० प्रतिशत भन्सारदर (ट्यारिफ) लगाएपछि भारतको झण्डै ५० अर्ब डलरको वस्तु अमेरिका निर्यात असर पर्ने देखिएको छ।
यसले अमेरिका केन्द्रीत वस्तु उत्पादन गर्ने भारतका उद्योग बन्द हुनुका साथै बेरोजगारी संख्या बढाउने भएको छ।
एक महिनाअघि भारु कमजोर बन्दा डलर मजवुत हुन गई १४१ रुपैयाँ नजिक पुगेको थियो।
गत जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको भाउ बढेर १४१ रुपैयाँ पुगेको थियो।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.६६ प्रतिशत अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.६४ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ । सुनको भाउले पनि नयाँ रकर्ड कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३४ सय डलर माथि पुगिसकेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ । यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ।
आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। यस्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग –जाइका) ले पनि ब्याजर दोब्बर बढाएर दुई प्रतिशत पुर्याउँदै छ । आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । गत वर्ष सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ ऋण तिरेको छ।
विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । यस्तै स्थानीय मुद्राहरु कमजोर बनेका छन्।
