काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको चीन भ्रमणका क्रममा लिपुलेक नाकाबारे चिनियाँ पक्षसँग कुरा उठाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मेयर शाहले प्रधानमन्त्रीको चीन भ्रमणको सफलताको कामना गर्दै नेपालको सार्वभौमिकतामाथि भएको अतिक्रमणबारे चीनलाई स्मरण गराउन अनुरोध गरेका हुन्।
‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला,’ उनले सामाजिक सञ्जालमा स्टाटसमा लेखेका छन्।
शाहले प्रधानमन्त्रीमाथि आफूलाई पूर्ण विश्वास रहेको भन्दै शुभकामना पनि व्यक्त गरेका छन्। भारत र चीनले यसअघि नेपालको लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए, जसको नेपालमा व्यापक विरोध हुँदै आएको छ।


