एजेन्सी। पाकिस्तानको सीमा नजिकै पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी २० भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प आइतबार स्थानीय समय अनुसार राति ११:४७ बजे आएको थियो। यसको प्रभाव ८ किलोमिटरसम्म रहेको थियो। त्यसपछि कम्तिमा तीन पटक भूकम्पको पराकम्पन गएको जसको म्याग्निच्युड ४.५ देखि ५.२ सम्म रहेको बताइएको छ। समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानको राजधानी काबुल (लगभग २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (लगभग ४०० किलोमिटर टाढा) मा केही सेकेन्डका लागि भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पबाट प्रभावित प्रान्तहरू दुर्गम र कठिन पहाडी भूभागमा रहेकाले र त्यहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी नभएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
तालिबान सरकारी अधिकारीहरूले दुर्गम र पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न राहत संस्थाहरूलाई अपील गरेका छन्।
कुनार प्रान्तका प्रहरी प्रमुखले भूकम्पका कारण आएको बाढी र पहिरोका कारण उक्त क्षेत्रका सडकहरू बन्द भएको बीबीसीलाई बताए। उनले उद्धार कार्य हवाई मार्गबाट मात्र गर्न सकिने बताए। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोग खोजिरहेको बताएका छन्।


