काठमाडौं। संघीय निजामती सेवासम्बन्धी व्यवस्थामा फेरबदल गर्दै, अब नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाको बाटो खोल्ने सहमति जुटेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकले निजामती सेवामा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट भर्न सकिने प्रावधानमा सहमति जनाएको हो।
यसअघि प्रतिनिधि सभाबाट पारित विधेयकमा नासु पद शतप्रतिशत बढुवामार्फत मात्र पदपूर्ति गर्ने प्रस्ताव गरिएको थियो। तर राष्ट्रिय सभामा पुगेपछि सो प्रस्ताव संशोधन भएको छ।
त्यस्तैगरी, सहसचिव तहमा पनि समितिले १० प्रतिशत खुला प्रतिस्पर्धा समावेश गर्ने निर्णय गरेको छ। यसअघि प्रतिनिधि सभाले यस पदमा खुला प्रतिस्पर्धाको व्यवस्था नराखेको थियो।
साथै, विधेयकमा उल्लेखित अतिरिक्त सचिवको पदसम्बन्धी प्रावधानलाई पनि समितिले हटाउने निर्णय गरेको छ। विधायन व्यवस्थापन समितिले दफावार छलफलको क्रममा यसबारे स्पष्ट निर्णय लिएको हो।
यो संशोधनसँगै संघीय निजामती सेवामा प्रवेशको अवसर अलिकति खुला हुने देखिएको छ, जसले दक्ष जनशक्तिलाई प्रवेशको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।


