काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न विषय प्रस्तुत गरेका छन्। सांसदहरुले बाढी-पहिरोका विषयदेखि भिजिटभिसा प्रकरणसम्मका विषयमा आफ्ना राय राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बजारीकरण गर्नुपर्ने र अर्गानिक आन्तरिक उत्पादनको प्रयोग बढाउनुपर्नेमा सरकारकाे ध्यान पुग्नुपर्नेमा जोड दिए। उनले सदनमा बोल्दै विदेशी स्याउ बढी आयात हुँदा नेपालभित्रको उत्पादनले बजार पाउन नसकेकाले केही समय आयात रोक्न सके यहाँको उत्पादनले बजार पाउने भनाइ राखे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ९५ दिनदेखि आफ्नो दलले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा छानबिनको माग गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे। विरोधका आवाजलाई दमन गरेर संसदीय व्यवस्था बलियो नहुने उनले तर्क गरे।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले बारा, पर्सा रौतहटलगायत तराईका जिल्लामा खानेपानीको चरम अभाव रहेको विषय सदनमा उठाए। उनले यो समस्या तत्काल समाधानका लागि पहल थाल्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। तराईमा सुख्खा क्षेत्र घोषणा भए पनि त्यसको कार्यान्वयन हुने नसकेको पनि सांसद तिमल्सेनाले बताए । आन्दोलनरत उखु किसानका माग सम्बोधन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सेवासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेसँगै परोपकारी संस्था तथा सामुदायिकस्तरबाट सञ्चालित तीन हजारभन्दा बढी एम्बुलेन्सले सेवा दिन नपाएर थन्किएका बताए। स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने नयाँ व्यवस्थाले समस्या देखिएको उनले उल्लेख गरे।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि भासिएको पुलको निर्माण हालसम्म सुरु हुन नसकेको बताए। यस विषयमा सदनमा पटकपटक जानकारी गराइए भए पनि सुनुवाइ हुन नसकेको उनको भनाइ छ। उखु किसानले आफ्ना माग पूरा नभए राजमार्ग अवरुद्ध गर्ने बताइरहेका उल्लेख गर्दै सांसद यादवले यस्तो अवस्था आउन नदिन जायज माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए।


