काठमाडौं। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन्।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी हुने जनाइएको छ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनातम्क प्रतिवेदन पेस गर्ने कार्यसूची छ। स्थायी कमिटी सदस्य कर्ण थापाले बिहीबार दिउँसो दर्ता गराएको ३२ पृष्ठ लामो फरक प्रतिवेदनमाथि पनि विधान अधिवेशनमा छलफल हुनेछ। बिहीबार नै बसेको एमाले सचिवालय बैठकले थापाको फरक मत महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको थियो।
थापाले पार्टीका निर्णय, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू फरक मतका रुपमा दर्ता गराएका थिए। पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानलगायतका विषय फरक मतमा छन्।
यस्तै महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन्। शनिबार ती प्रतिवेदनहरूमाथि छलफल भइ आइतबार प्रस्तुत गरिनेछ। प्रतिवेदन पास र विधान अनुमोदनसहित आइतबार महाधिवेशन समापन हुनेछ।
महाधिवशेनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा झण्डा र पोस्टरसहितका बृहत् प्रचार सामग्री राखिएका छन्। महाधिवशेनस्थलमा गोदावरीको मुख्य बसपार्कबाट सम्मेलन स्थलतर्फ चारवटा गेट निर्माण गरिएको छ। गेट नम्बर १ बाट अध्यक्ष ओलीले मात्रै प्रवेश गर्नेछन्। गेट २ र ३ बाट अन्य पदाधिकारी, मुख्यमन्त्री र प्रतिनिधि प्रवेश गर्नेछन्। खाद्यान्न र क्याटरिङ प्रयोजनका लागि छुट्टै चार नम्बर गेट तयार गरिएको छ।
महाधिवेशन स्थलमा क्युआर स्क्यानिङमार्फत प्रवेश गर्न सकिनेछ भने बाहिर ६ वटा स्क्यानिङ बुथ निर्माण गरिएको छ। प्रतिनिधिको सिट व्यवस्थापन पनि स्क्यानिङ प्रणालीद्वारा नै हुनेछ।


