काठमाडौँ। संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेका १९ जना नेपाली नेपाल आइपुगेका छन्। उनीहरू बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
अवतरण भएको २ घण्टापछि उनीहरूलाई बाहिर ल्याइएको थियो। अध्यागमनले उनीहरूलाई कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार डिपोर्ट भएकाहरूमध्ये २ जना महिला र १७ पुरुष रहेका छन्।
उनीहरूलाई अमेरिकाले चार्टर विमानमार्फत नेपाल ल्याइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई जिम्मा लगाएको हो। चार्टर विमानमार्फत बुधबार नै ३७ जनालाई नेपाल ल्याउने तयारी गरिएकोमा प्राविधिक कारण देखाइ १८ जनालाई पछि फिर्ता पठाउने निर्णय ट्रम्प प्रशासनले गरेको छ।
अमेरिकाले सन् २०२५ को जनवरी २२ यता २ सय ३४ जना नेपालीलाई निस्काशन गरेको हो।
प्रकाशित: २०८२ भदौ २० गते शुक्रबार ०८:०८