नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सन्जाल बन्द गर्ने सरकारी निर्णयलाई ‘घोर आपत्तिजनक’ कदम भनेका छन्।
शुक्रबार सामाजिक सन्जालमा आफ्ना धारणा राख्दै प्रचण्डले सरकारविरुद्ध गरिएको आलोचना दबाउन सरकारले सामाजिक सन्जाल बन्द गराएको आरोपसमेत लगाएका छन्।
‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ,’ उनले भनेका छन् ‘यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ।’
‘सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो,’ प्रचण्डले अगाडि लेखेका छन्।
यसले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भएको उनले बताएका छन्।
‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ,’ उनले लेखेका छन्।
उनले थपेका छन्, ‘अतः, म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु।’
यसअघि प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।


