टोकियो (जापान ): मातृभूमी नेपालमा विकसित भइरहेको विषम परिस्थितप्रति एनआरएनए जापान च्याप्टरले चिन्ता व्यक्त गरेको छ।
जेनजी आन्दोलनमा भएको भारी मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले ‘परिस्थितिजन्य सहयोगका लागि आफूहरु तयार रहेकाे’ समेत बताएका छन्। शोक र संकटको अवस्थामा सबैसँग धैर्यताको अपिल गर्दै उनले भनेका छन्, ‘घरदेशमा जे भैरहेको छ त्यो टुलुटुलु हेरेर बस्नसक्ने अवस्थामा हामी कोहीपनि छैनौं त्यसैले हामी सबैले आ–आफ्नो स्थानबाट सकेको पहल र समन्यवको प्रयास गरिरहेका छौं।’
एनआरएनए जापान अध्यक्ष लामिछानेको वक्तव्यः
आदरणिय जापानबासी अग्रज, नेपाली आमा बुवा, दाजुभाई, दिदीबहिनी, सामाजिक अभियन्ता, पत्रकार तथा जनसमुदायहरु ।
नेपालमा व्याप्त भष्ट्राचार तथा वेथितिविरुद्ध जेन–जी युवाहरुले गरेको आन्दोलनपश्चात उत्पन्न स्थितीबारे तपाई हामी सबै जानकार नै छौं । हिजो जे भयो त्यसले सारा नेपालीको मन अस्थिर बनाएको छ, यसमा एनआरएनए जापान पनि निकै मर्माहत भएको छ ।
परदेशमा बस्दै गर्दा घरदेशमा जे भैरहेको छ त्यो टुलुटुलु हेरेर बस्नसक्ने अवस्थामा हामी कोहीपनि छैनौं त्यसैले हामी सबैले आ–आफ्नो स्थानबाट सकेको पहल र समन्यवको प्रयास गरिरहेका छौं । सोही प्रयास अन्तर्गत हिजो नै हामीले संस्थागत रुपमा शोक बक्तव्य जारि गरि घटनाको भत्र्सना गरेका छौं, आज बिहानै नेपाली राजदूतावास पुगेर विभिन्न मागहरु सहित राजदूतज्यूसमक्ष ज्ञापनपत्र पनि बुझाएका छौं । परदेशमा सरकारको प्रतिनिधी भनेकै राजदूतावास भएकाले हामी राजदूतज्यू मार्फत सम्बन्धित निकायसम्म हाम्रो आवाज पुग्छ भन्ने कुरामा विश्वस्त छौं, राजदूतज्यूले पनि त्यो कुराको विश्वास दिलाउनुभएको छ ।
हामीलाई धेरैजनाले जेन–जी आन्दोलनको सहयोग, घाईतेको उपचार तथा अन्य शीर्षकहरुमा अर्थ संकलनका लागि पनि अनुरोध गरिरहनुभएको छ । हामी यस विषयमा पनि छलफलकै क्रममा छौं, यदि सो कुराको आवश्यकता महशुष भएमा पूनः अर्को सूचनामार्फत जानकारी दिनेछौं । हालका लागि व्यक्तिगत रुपमा रकम संकलन गरिरहनुभएका भए सो रकम पारदर्शी रुपमा सम्बन्धित ठाउँसम्म पुर्याउनुहुन पनि अपिल गर्दछौं ।
हामीलाई विश्वास छ, देशमा देखिएको यो विसम् परिस्थितीमा परदेश, विशेषगरि जापानमा रहनुभएका तपाई सम्पूर्ण नेपालीहरुको प्रतिनिधीका रुपमा हामीले गर्न सक्ने सम्मका सबै कार्यहरु गर्न, सम्बन्धित निकायहरुलाई झक्झक्याउन कुनै कसर बाँकी राख्नेछैनौं । यस कार्यमा तपाई सबैको साथ, सहयोग र सुझावको अपेक्षा राखेका छौं ।
यो परिस्थितीमा सबैजना संयमित भईदिनुहुन, बसिरहेको देशको कानूनभन्दा बाहिर जानेगरि कुनैपनि कृयाकलाप नगरिदिनुहुन अनुरोध समेत गर्दछौं ।
भवदीय,
सुभाष लामिछाने
अध्यक्ष, एनआरएनए जापान
प्रकाशित: २०८२ भदौ २४ गते मङ्गलबार ०९:५१