काठमाडौँ — जेनजी आन्दोलनको दोस्रो दिनभर मंगलबार राजधानी काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन तथा आगजनी भइरहेको छ। बिहानदेखि युवाहरु सहरका चोकहरुमा जम्मा भएर भ्रष्टाचार विरोधी नारा लगाइरहेका छन्।
देशका अरु मुख्य सहरहरु तथा स्थानहरुमा पनि जेनजी पुस्ताले प्रदर्शन गरिरहेका खबरहरु प्राप्त भएका छन् ।
संसद भवन वानेश्वरअघि र त्यस वरपर पनि युवाहरु जम्मा भएर नारावाजी गरिरहेका छन्। काठमाडौंका मुख्य सडकहरु सवैतिर तन्नेरी पुस्ताका प्रदर्शन देख्न सकिन्छ। जिल्ला प्रशासन काठमाडौंले चक्रपथ भित्रका सबै स्थानहरुमा कफ्र्यु आदेश जारी गरे पनि आदेश उलंघन गर्दै युवाहरु सडकमा आएका हुन्।
काठमाडौं आसपासका ललितपुर र भक्तपुरमा पनि कफ्र्यु उल्लघंन गरेर प्रदर्शनकारी सडकमा छन्।
हिजो सोमबारको प्रदर्शनमा १९ जना भन्दा बढिको ज्यान गएपछि मंगलबारको आन्दोलन अझ व्यापक र तोडफोड तथा आगजनीमा परिणत भएको छ। आन्दोलनकारीले मूलत राजनीतिक दलका नेता तथा सरकारी निवासहरुलाई निसाना बनाइरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास बोहराटारमा ढुंगामुडा भएको छ।
जेनजी प्रदर्शनकारी मंगलबार राजनीतिक दलका नेता र मन्त्रीका घरमा ढुंगा प्रहार गर्न लागेका छन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका हुन्।
जेनजी प्रदर्शनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरमा रहेको घरमा आगजनी गरेका छन्। त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन्।
सोमबार गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन्।
त्यस्तै, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा पनि आक्रमण भएको छ।
पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन्।
काँग्रेस महामन्त्री गगन थापाको घरमा पनि आगजनी भएको छ।
त्यसैगरी सत्ताधारी दलहरु एमाले र काँग्रेस पार्टी कार्यालयहरुमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। आगजनी तथा तोडफोडका घटनाहरु निरन्तर रुपमा सतहमा आइरहेका छन्।


