काठमाडौँ: जय नेपाल इन्टरनेशनल फाउन्डेशन युके च्याप्टरले सोमबार र मंगलबार जेनजी समूहको आन्दोलनका क्रममा नेपालमा भएको मानवीय र आर्थिक क्षतिमा गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले सो घटनामा धेरै युवा सहभागीको ज्यान गुमेको र सयौं घाइते भएमोमा दु:ख व्यक्त गर्दै दिवंगतहरूमा श्रद्धाञ्जलि अर्पण गरेको छ।
संस्थाले घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीहरूमाथि कानूनी कारबाही अघि बढाउन अपिल गरेको छ।
संस्थाले सङ्घर्षलाई भ्रष्टाचार उन्मूलनका लागि एउटा सकारात्मक आन्दोलनका रूपमा समर्थन गरेको छ। यद्यपि, प्रदर्शनका क्रममा देशभर सार्वजनिक सम्पत्तिमा भएको आगजनी, उद्योग व्यवसायमा भएको आक्रमणको निन्दा गरेको छ। यसले दीर्घकालीन रूपमा लगानी र विकासको वातावरणमा नकारात्मक प्रभाव पार्ने युके च्याप्टरले विज्ञप्तिमार्फत् जनाएको छ।
हाल सिर्जित सरकारविहीन अवस्थालाई शीघ्र अन्त्य गरी शान्ति र सुरक्षाको वातावरण कायम गर्न, सबै पक्षको सहभागितामा छिटोभन्दा छिटो सर्वपक्षीय सरकार गठन गर्न संस्थाले अपिल गरेको छ।
शान्ति, सुरक्षा र स्थायित्वको वातावरण कायम गर्न, सर्वपक्षीय सरकारको तात्कालिक गठनको आवश्यकता संस्थाले अपिल गरेको छ। साथै, लोकतान्त्रिक मान्यतामा आघात पुऱ्याउने कुनै पनि गतिविधिविरुद्ध उभिने र राष्ट्रिय एकतामा अग्रसर लोकतान्त्रिक पक्षहरूलाई एकजुट हुन पनि आग्रह गरेको छ।


