काठमाडौँ: मंगलबारको जेनजी युवाहरूको ध्वंसात्मक विद्रोहपछि मुलुक संङ्क्रमणकालिन अवस्थाबाट गुज्रिएको छ। प्रदर्शनकारीहरूबीच अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीका विषयमा बुधबार अबेरसम्म सम्झौता हुननसकेपछि अन्यौलको अवस्था सिर्जना भएको छ।
बुधबार अधिकांश जेनजीहरू पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाममा सहमत भएको र त्यसलाई जेनजी युवाहरूले नेतृत्वमा देख्न चाहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि समर्थन गरेका थिए। तर केही प्रदर्शनकारीले भने कार्कीको नामम असमर्थन जनाउँदै विरोध गरेका थिए। सहमति जुट्न नसकेपछि राष्ट्रपतिसँग वार्ताका लागि सहजीकरण गरिरहेको नेपाली सेनाले उनीहरूलाई फर्काइदिएको थियो।
बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूसहित छलफलका लागि पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग समेत छलफल गरेका थिए।
नयाँ नेतृत्वका लागि आज सेनाको रोहवरमा जंगी अड्डामा जेनजी युवा र राष्ट्रपति रामचन्द्र पौडेलबीच निर्णायक छलफल हुन लागेको हो। नयाँ सरकार प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश कार्कीको नाम अगाडि आए पनि त्यसको टुंगो लागिसकेको छैन। बिहीबार बिहानदेखि जेनजी प्रतिनिधिहरूसँग प्रधान सेनापति सिग्देलले छलफल गर्ने सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। सहमतिपश्चात् उक्त प्रतिनिधिले राष्ट्रपति पौडेलसँग आगामी सरकार निर्माण प्रक्रियाबारे राष्ट्रपति पौडेलसँग छलफल गर्नेछ।
जेनजी प्रदर्शनीका क्रममा मंगलबार सरकारी दमनका कारण १९ जनाले ज्यान गुमाएपछि दोस्रो दिन आन्दोलनले चर्को स्वरुप लिएपछि केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।


