काठमाडौं — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति भए पनि त्यसको प्रक्रियामा र संसद विघठन गर्ने या नगर्ने भन्ने विषयमा थप छलफल हुने भएको छ।
राष्ट्रपति निवासमा केही बेरमा छलफल प्रारम्भ हुने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार दिनभर र रातभर शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा छलफल भएको थियो।
यद्यपि, अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने प्रारम्भिक सहमति बनिसकेको छ।
छलफलमा जेनजी समूहको प्रतिनिधित्व गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए, जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्।
अबको छलफलमा जेनजी प्रतिनिधीलाई पनि सहभागी गराउने तयारी भएको छ।


