काठमाडौं– देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ।
जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ।
मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ। तसर्थः तराईका भू–भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा उल्लेख छ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लूचल्ने सम्भावना रहेको बताए । ‘विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ। समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा तापक्रम ४० डिग्री हाराहारी छ, यसले गर्मी बढेको छ’, उनले भने।
लू चल्न लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ। साथै, पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।
तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तै, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ।
काठमाडौंमा अझै तीन दिन वर्षा नहुने
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। मौसमविद् झाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ। तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ।
काठमाडौंमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए। कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ। काठमाडौंमा शनिबर न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ।
विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ। तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ।


