काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी छाडेर नवगठित अन्तरिम सरकारमा जान लागेको अफवाह फैलिएपछि स्पष्टीकरण दिएकी छन्। शनिबार भिडिओ सन्देश जारी गर्दै उनले आफू अन्तरिम मन्त्रिमण्डलमा जान लागेको कुरा सत्य नभएको बताएकी हुन्।
उनले अहिलेको अन्तरिम सरकारप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन्। आफ्नो अनुभव, सञ्जाल र समय यस सरकारलाई दिने प्रतिबद्धता व्यक्त गर्दै आफूले कुनै मन्त्रीको पद भने नलिने बताएकी हुन्।
‘यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन,’ उनले भनेकी छन्, ‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु।’


