काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने १० दल सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ती दलको बैठकले दाहाललाई विश्वासको मत दिन सहमति जुटाएका हुन्।
सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति भएकोको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा जानकारी दिएकी छन्। राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निष्कर्षमा पुगेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिनुपरेको हो। राष्ट्रपतिमा निर्वाचित भएर पौडेलले कार्यभारसमेत सम्हालिसकेका छन्।
‘सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सि सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ,’ दाहालले फेसबुकमा लेखेकी छन्।
आइतबार सरकारले संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ। संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत हुन लागेको हो। यसमा पनि एकसाथ उभिने उनको भनाइ छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीको बैठकले यस्तो सहमति जुटाएको हो।
यसअघि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र लगायतले पनि विश्वासको मत दिएको थियो। यी दलहरू पनि सरकारमा सहभागी थिए।


