काठमाडौँ: मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्। गत भदौ २३ गते भएको प्रदर्शनीमा सरकारी दमन भएपछि भदौ २४ को उत्तेजक र अराजक प्रदर्शनकारीको समूहले गरेको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन्।
सरकारी निकायले निकालेको प्रारम्भिक तथ्यांकअनुसार सो संख्यामा सवारीसाधन जलेको देखिएकोमा वास्तवमा यो संख्या अझै बढी हुने अनुमान गरिएको छ। तोडफोड मात्र भएका सवारीसाधन यसमा परेका छैनन्। सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्ने छ।
सवारीसाधन सडक विभागका नष्ट भएका छन्। विभागले मोटरसाइकल र स्कुटर गन्न नसकिने गरी जलेको जनाइएको छ।
त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर नष्ट भएका छन्।
त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताउनुभयो। त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन्।
यी निकायमा पार्किङ गरिएका निजी सवारीसाधन पनि नष्ट भएका छन् तर तिनको विवरण आएको छैन। जेनजी आन्दोलन सुरु भएपछि मन्त्रालयका सवारीसाधन निजी घरमा नराखी सिंहदरबार परिसरमा नै पार्किङ गर्न निर्देशन दिइएको थियो। सुरक्षाका दृष्टिले सिंहदरबार सुरक्षित मानिएर त्यस्तो भनिएको भए पनि त्यही परिसर नै तोडफोड र आगजनी भएपछि अकल्पनीय क्षति भएको हो।


