चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाका खेलाडीलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाले शनिबार ८ खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरेको हो।
राष्ट्रिय टिमका रेनुका नगरकोटी, रश्मिकुमारी घिसिङ, समीक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जलीकुमारी योञ्जन नगदसहित सम्मानित भएका हुन्।
राष्ट्रिय टिममा रहेर नगरपालिकाको गरिमा बढाएको उल्लेख गर्दै नगरले सम्मान गरेको हो। गत भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसबेला रौतहटका मात्रै ७ खेलाडीले टिमको प्रतिनिधित्व गरेका थिए। त्यसबेला कप्तानसमेत रहेकी रेनुका भने चोटका कारण टिमबाट बाहिर थिइन्।
महिला फुटबलका लागि उर्भरभूमिको रूपमा रहँदै आएको रौतहटको चन्द्रपुर नगरपालिकाका दर्जनौँ खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छ्न्।


