काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको मुद्दामा अर्को बुधबार आदेश गर्ने भएको छ। अभियुक्तहरूलाई थुनामा पठाउने वा धरौटी माग्ने वा सामान्य तारिखमा रिहा गर्ने भन्नेबार अर्को बुधबार आदेश गर्ने भएको हो।
यो मुद्दामा काठमाडौँ जिल्ला अदालतमा अभियुक्तहरूको बयान सकिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै जेठ ३१ गते बहस टुंग्याउन आदेश दिएका हुन्।
यसअघि यो मुद्दाका अभियुक्तहरूले अदालतलाई बयान दिएका थिए। अब सरकारी वकिलले बयान सुरु गरेका छन्। यसपछि प्रतिवादीहरूका कानुन व्यवसायीले बहस गर्नेछन्।
हालसम्म यो मुद्दामा १८ जना पक्राउ परेका छन्। बाँकी १२ जना फरार छन्। यसका साथै तीन जनाको विस्तृत हुलिया नखुलेको भन्दै प्रहरीले उनीहरूविरुद्ध मुद्दा चलाएको छैन।
यो मुद्दामा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालगायत १८ जना पक्राउ परेका छन्। इन्द्रजितका छोरा निरज राई, बादलका छोरा प्रतीक थापालगायत १२ जनाविरुद्ध भने फरार रहेकै अवस्थामा मुद्दा चलाइएको छ।


