काठमाडौँ: इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो। प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन्। यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो।
युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ। हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ। त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ। यद्यपि, यसमा कति समय लाग्न सक्छ भन्ने स्पष्ट छैन।
इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ।
इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखामा फिर्ता हुनेछ। गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्साअनुसार, यो इजरायली सेना फिर्ता हुने तीन चरणमध्ये पहिलो हो।
इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामवली सार्वजनिक भएको छ । तर उक्त नामवलीमा नेपालका विपिन जोशीको नाम भने छैन। जोशी र अर्का एक व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ।


