काठमाडौं। गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ।
भोलि शनिबार बिहानैदेखि सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्णरूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
शुक्रबार बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको र बाँकी दिउँसो मङ्गलटारको माम्तीमा ट्रयाक खोलेपछि अवरुद्ध राजमार्गमा सवारी खुलाइन सहज भएको हो।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको हो।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँशी, गिम्दीबेँशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेंसी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको बताए।
उनका अनुसार ट्रयाक खुलाइए पूर्णरूपमा यातायात सञ्चालन भने शनिबार बिहानदेखि गरिनेछ।
राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो। “ट्रयाक खोलीसकेका छौँ, खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्दैछौँँ, शनिबार बिहानदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उनले भने।
रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो। मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो।
योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताए।
बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो। सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन्। कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो।


