काठमाडौं। लगानीकर्ताको विश्वास गुम्दा साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ। आइतबार बजार ७८.८३ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २५ सय तीन अंकमा सीमित भएको छ।
आइतबार २४२ कम्पनीको सेयर मूल्य घट्दा नौ को मात्र बढेको नेप्सेले जनाएको छ। बुटबल पावर कम्पनी लिमिटेड, नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड र राधी जलविद्युतलगायत कम्पनीको सेयर सर्किट लेभलमा मूल्य घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडलगायतको सेयर मूल्य बढेको छ।
आइतबार छ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सेयर मूल्य घटे पनि नेपाल रि–इन्स्योरेन्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ। नेपाल रिको ३८ करोड रुपैयाँ सेयर किनबेच भएको छ।
यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको ३७ करोड १७ लाख र युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
