धरान। करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमी बनेका छन्। सानो लगानीबाट सुरु गरिएको उनको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ।
विसं २०३६ मा ओखलढुङ्गामा जन्र्मिएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै र्आएका हुन्। प्रहरी सेवाबाट राजीनामा दिएपछि उनी २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।
करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै कार्कीले लामो समय मासुपसल सञ्चालन गरे। सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा सम्भावना देखेर व्यावसायिक रूपमा अघि बढ्ने प्रेरणा मिलेको उनको भनाई छ।
विसं २०७० मा ‘सुनसरी एग्रो मिक्स फार्म’ स्थापना गरेर २०७४ सालमा पुनः ‘झुम्का अर्गानिक कृषि फार्म’ दर्ता गरे। हाल चार बिघा जमिनमा आधुनिक शैलीमा सुँगुर, कुखुरा र बाख्रापालन गर्दै र्आएका छन्। बाँकी चार बिघा जमिनमा धान, मकैलगायत नगदे बाली उत्पादन हुँदै आएको छ।
कृषिबाट कार्की आफूले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । अहिले फार्ममा १६ जनालाई रोजगार मिलेको छ।
कार्की भन्छन्, “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चीकै सन्तोषको विषय पनि रहेछ कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने भाष्य गलत हो।”
विदेश पलायन हुनुभन्दा अहिले युवाले आफ्नै ठाउँमा पसिना बगाए देश पनि समृद्ध बन्छ, परिवारलाई खानको खाँचो पनि हुँदैन। अहिले फार्ममा करिब रु २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
विदेशमा काम गर्दा धेरै मेहनत गरेर कमाए पनि खासै बचत नहुने अनुभव सुनाउँदै उनले भने, “त्योबेला लाग्थ्यो आफ्नै देशमा पसिना बगाएर काम गर्दा त्यसको प्रतिफल पनि आफ्नै हातमा पर्छ।” त्यही सोचले तीन वर्षको वैदेशिक बसाइपछि स्वदेश फर्केर व्यवसाय सुरु गरे। कार्कीले भने, “व्यवसाय सुरु गर्दा विभिन्न सानातिना चुनौतीको सामना गर्नुपरेको थियो। ‘‘पशुपालनसम्बन्धी प्राविधिक ज्ञान थिएन, बजारको अवस्था पनि स्थिर नहुनु कहिले राम्रो उत्पादन हुन्थ्यो, तर बिक्री मूल्य नपाइने समस्या थियो”, उनले भने, “तर सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो। परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो।”
सुरुमा तीन सय लेयर्स कुखुराबाट व्यवसाय थालनी गरेका थिए कार्कीले। विस्तारै सुँगुर र बाख्रापालनतर्फ पनि लगानी विस्तार गर्दै लगे। अहिले फार्ममा करोडौँको लगानी भइसकेको छ। तालिमबिनै व्यवसाय सुरु गरे पनि काम गर्दै जाँदा सिकेको उनले बताए।
कार्कीले भन्नुभयो, “सञ्चालन राम्रो भएकाले अहिले सुँगुर, कुखुरा, बाख्रालगायत सबै फार्मबाट वार्षिक रुपमा रु तीन करोडसम्म आम्दानी हुने गरेको छ ।”
कुखुरा फार्म र दाना उद्योग
सुनसरी एग्रो मिक्स फार्मसँगै दाना उद्योगसमेत आफैँले सञ्चालन गर्दै आइरहेका उद्यमी कार्कीले फार्ममा लेयर्स हाइलाइन र लोमेन जातको ३० हजारभन्दा बढी कुखुरा पालेका छन्। कार्कीले आधुनिक प्रविधियुक्त ‘क्लोज हाउस’ प्रणाली र परम्परागत ‘डिप लिटर’ प्रविधिबाट दैनिक हजारौँ अण्डा उत्पादन गर्दै आएका छन्।
‘क्लोज हाउस’ खोरको कूल क्षमता २३ हजार रहेको छ, जसबाट दैनिक करिब २० हजार ७०० भन्दाबढी अण्डा उत्पादन हुँदै आएको छ। त्यस्तै डिप लिटर प्रणालीमा रहेका दुई कुखुरा खोरको क्षमता आठ हजार रहेको छ, जसबाट दैनिक सात हजारभन्दा बढी अण्डा उत्पादन हुन्छ। दुवै प्रणालीबाट हाल दैनिक झण्डै २८ हजारभन्दा बढी अण्डा उत्पादन भइरहेको छ।
फार्ममा उत्पादित अण्डा स्थानीय बजार इटहरी, धरान, विराटनगर, झापालगायत क्षेत्रमा आपूर्ति गरिँदै आएको छ भने केही भाग काठमाडौँसम्म बिक्रीका लागि पठाइन्छ।
गत असोज १७ गते शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि आएको बाढीले फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगायो। कार्कीका अनुसार फार्ममा झण्डै ३०० भन्दा बढी सुँगुर थिए। तर १८ गते राति एक्कासि आएको बाढीले ठूला माउ सुँगुरदेखि साना पाठासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएर लग्यो अहिले फार्ममा करिब ७० वटा सुँगुर मात्र बाँकी छन्।
तिहारका लागि बिक्री गर्न तयारी अवस्थामा राखिएका सुँगुरसमेत बगाएर लगेपछि आर्थिक क्षति झनै बढेको छ ।बाढीपछि फार्मको भौतिक संरचना मर्मत तथा व्यवस्थापन सुधारको काम सुरु गरिएको कार्कीले बताए।


