काठमाडौं। चालू आर्थिक वर्षको दुई महिनामा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब १ अर्ब ७७ करोड रुपैयाँ मात्र बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यसैगरी दुई महिनाको अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ मात्र बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोड बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ थियो।


