काठमाडौं। चालू आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चिती ७.६ प्रतिशत बढेको छ। साउन र भदौमा विदेशी मुद्रा सञ्चिती २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। २०८२ असारमा विदेशी मुद्रा सञ्चिती २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।
अमेरिकी डलर सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो। भदौमा ४.७ प्रतिशत वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गएको असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा भदौमा आएर ६.९ प्रतिशत वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १३.७ प्रतिशत बढेर दुई खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ छ। कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२, १३३.१ र ३६.६ प्रतिशत रहेका छन्।


