काठमाडौँ: प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको निधनमान दुःख व्यक्त गरेकी छन्।
बुधबार एक प्रेस विज्ञाप्ति जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले एकदमै दु:खद् तुल्याएको बताएकी छन्।
उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता जोशीको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको बेला उनको मृत्युको खबरले दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको बताइन्।
बन्धक हुनुपूर्वका अन्तिम क्षणमा जोशीले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुरा उनको बीरतापूर्ण कार्य र जीवनको सबैभन्दा ठूलो विरासत भएको पनि उनले बताएकी छन्।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमिमा गरेको आक्रमणपछि हमासले विपिनसहितका विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको थियो। सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीसहित १ हजार २०० जना मारिएका थिए।
विपिनलाई हमास लडाकुले बन्धक बनाएर लिएर गएका थिए। जोशी त्यसको केही समयमै हमासद्वारा मारिएको सोमबार पुष्टि भएको थियो।हमासले जोशीसहित चार जनाको अवशेष सोमबार इजरेली पक्षलाई हस्तान्तरण गरेको थियो। इजरेली सेनाले हमासले फिर्ता पठाएका शवमध्ये विपिन जोशीको पनि भएको पुष्टि गरेको छ। उनको शव नेपाल पठाउने तयारी गरिएको छ।
प्रकाशित: २०८२ असोज २९ गते बुधबार ०३:२१