काठमाडौं। चालू आर्थिक वर्षको दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) घटेको छ। गत भदौसम्म एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) दुई अर्ब ७१ करोड रुपैयाँ थियो।
गत आर्थिक वर्षमा कूल अर्ब १२ अर्ब चार करोड रुपैयाँ एफडीआई आएको थियो।
नेपालमा एफडीआई स्टक १२.७ प्रतिशत बढेको छ। गत वर्षसम्म वैदेशिक लगानी स्टक तीन खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यसमा चुक्ता पुँजी ८.२, सञ्चितिमा २२.७ र ऋण ५ प्रतिशत बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको एफडीआई सर्भे रिपोर्टले देखाएको छ।
हालसम्म सबैभन्दा बढी एफडीआई छिमेकी भारतबाट आएको छ। कूल एफडीआईमा भारतको हिस्सा ३२.३ प्रतिशत छ। यस्तै दोस्रोमा छिमेकी चीन रहेको छ। चीनको हिस्सा १०.२ प्रतिशत छ।
यस्तै सिङापुरमा ८.३, आयरल्याण्डको ७, दक्षिण कोरियाको ६.१, अष्ट्रेलियाको ५.९, वेस्ट इन्डिजको ४.४, अमेरिकाको ४.२, आइसले म्यानको ३.४, हङकङको ३.३ र अन्य मुलुकको १४.९ प्रतिशत रहेको छ । कूल एफडीआईमा १० मुलुकको हिस्सा ८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
भारतबाट अहिलेसम्म एक खर्ब सात अर्ब ६३ करोड रुपैयाँ एफडीआई आएको छ भने चीनबाट ३३ अर्ब ८२ करोड २६ लाख र सिङापुरबाट २७ अर्ब ६६ करोड ४० लाख रुपैयाँ एफडीआई आएको छ।
यसैगरी आयरल्याण्डमा २३ अर्ब १४ करोड, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड, अष्ट्रेलियाबाट १९ अर्ब ७१ करोड, वेस्ट इन्डिजबाट १४ अर्ब ७५ करोड, अमेरिकाबाट १३ अर्ब ८२ करोड, आइसले अफ म्यानबाट ११ अर्ब ४० करोड, हङकङबाट ११ अर्ब र अन्य मुलुकहरुबाट ४९ अर्ब ७७ करोड रुपैयाँ आएको राष्ट्र बैंकले जनाएको छ।
सबैभन्दा बढी एफडीआई विद्युत, ग्यास र एयरकन्डिसनमा आएको छ। यसमा एफडीआईको हिस्सा साढे २९ प्रतिशत रहेको छ। यस क्षेत्रमा ९८ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै उत्पादनमुलुक क्षेत्रमा ९७ अर्ब ५६ करोड, वित्त तथा बिमा क्षेत्रमा ८१ अर्ब ३९ करोड, एकोमेडेसन एन्ड फूड सर्भिसमा २६ अर्ब ९० करोड रुपैयाँ एफडीआई आएको छ।
गत वर्ष विश्वभर १५ खर्ब आठ अर्ब ८८ करोड डलर एफडीआई प्रवाह भएको छ। विकसित अर्थतन्त्रमा छ खर्ब ४१ अर्ब ६० करोड, विकासिशील अर्थतन्त्रमा आठ खर्ब ६७ अर्ब २० करोड प्रवाह भएको छ। यसमध्ये एसियामा छ खर्ब चार अर्ब र दक्षिण एसियामा ३४ अर्ब ६० करोड डलर एफडीआई प्रवाह भएको छ।
एफडीआई आउनुका साथै अर्बौं रुपैयाँ फिर्ता पनि गएको छ।आर्थिक वर्ष २०८०/०८१ मा १२ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ वैदेशिक लगानीबापतको लाभांश फिर्ता गएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा उक्त लाभांश पाँच अर्ब रुपैयाँ घटेको छ।
आर्थिक वर्ष २०७९/०८० मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांशबापत नेपालबाट बाहिरिएको थियो। उत्पादन उद्योगमा गरिएको लगानीबाट आठ अर्ब ९६ करोड ७९ लाख रुपैयाँ फिर्ता गएको छ।
वित्तीय तथा बिमा क्षेत्रमा गरिएको लगानीबाट दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँ लाभांश फिर्ता गएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरिएको लगानीबाट ८९ लाख रुपैयाँ लाभांश फिर्ता गएको छ। सूचना प्रविधि क्षेत्रमा गरिएको लगानीबाट एक करोड ४५ लाख रुपैयाँ लाभांशबापत विदेशिएको राष्ट्र बैंकले जनाएको छ।


