काठमाडौं। व्यवसायिक घरना देबेनारा समूहले सञ्चालन गरिरहेको बाबा भेजिटेबल आयल इन्डष्ट्रिज प्रालिको व्यापारमा चमक आएको छ। उद्योगको तेल व्यापार १९१ प्रतिशत बढेर पाँच अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष उद्योगको तेल व्यापार दुई अर्ब नौ करोड ९० लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा बाबाको खानेतेल व्यापार तीन अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२३ मा उद्योगको तेल व्यापार तीन अर्ब ६७ करोड ६० लाख रुपैयाँ थियो।
भारतमा तेल निर्यात ८८ प्रतिशत बढेकाले यसको सकरात्मक असर आम्दानीमा परेको उद्योगले जनाएको छ। सन् २०२४ सेप्टेम्बरमा भारत सरकारले कच्चा र प्रशोधित सूर्यमुखी तेलमा भन्सार शुल्क क्रमशः २० र ३२.५ प्रतिशत बढाएको थियो।
साउथ एसिया फ्रि ट्रेड एरिया(साफ्टा) अन्तर्गत ट्यारिफ आर्बिट्रेज अवसरको कारण बाबा भेजिटेवल जस्ता प्रशोधन उद्योगहरुलाई भारतमा निर्यात सम्भावना बढेपछि व्यापारमा चमक आएको हो।
बाबा भेजिटेवलले घरेलु बजारको मागलाई पुरा गर्दै आएको छ। बिक्रीमा वृद्धिसँगै उत्पादन लागतमा गिरावट आएको कारण आर्थिक वर्ष २०२४ मा ऋणात्मक मार्जिनबाट आर्थिक वर्ष २०२५ मा सुधार देखिएको छ।
फलस्वरूप, आर्थिक वर्ष २०२५ मा मार्जिन ५.७ प्रतिशतमा सुधार भयो। आर्थिक वर्ष २०२४ मा रिपोर्ट गरिएको नगद घाटा भएकोमा यो वर्ष ३६ करोड ३० लाख रुपैयाँले सुधार भएको उद्योगले जनाएको छ। कुल व्यापारमा ८८ प्रतिशत हिस्सा भारत निर्यातको छ।
उद्योगले तीन अर्ब ५८ करोड ३४ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
नेपाली खाद्य तेल प्रशोधन उद्योगहरुका लागि कच्चा र परिष्कृत खाद्य तेलहरूमा शुल्क संरचनासँग सम्बन्धित अनुकूल भारत सरकारको नीतिले सहयोग गरेको छ। यसले २०२४ सेप्टेम्बरदेखि भारतमा निर्यात सम्भावनाहरूलाई उल्लेखनीय रूपमा बढाएको छ।
साफ्टाअनुसार नेपालबाट प्रशोधित पाम तेलको आयातमा ६ प्रतिशत कम भन्सार महसुल लगाइएको छ। यसले नेपाली रिफाइनरीहरूलाई फाइदा पुर्याएको छ। फलस्वरूप, आर्थिक वर्ष २०२५ मा नेपालबाट खाद्य तेलको निर्यात तीव्र गतिमा बढेको छ। जसमा सोयाबीन तेलको निर्यात वार्षिक रूपमा ११३ र सूर्यमुखी तेलको निर्यात वार्षिक रूपमा ५८ प्रतिशत बढेको छ।
बाबा भेजिटेवलले मुख्यतया कच्चा तेल आयात गरेर प्रशोधन गरिरहेको छ। कच्चा वस्तुहरु अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया र युक्रेनबाट आयात हुने गरेको छ। कच्चा सोयाविन, पामोलिन, सूर्यमुखी तेल र कच्चा पाम तेल प्रमुख कच्चा पदार्थ हुन्। उद्योगको कच्चा पदार्थको मूल्य बजारसँग जोडिएको हुन्छ। जसले गर्दा कम्पनीलाई कच्चा पदार्थको मूल्यमा हुने अस्थिरताको सामना गर्नुपरेको हुन्छ र नाफा मार्जिनमा असर पर्छ।
कम्पनीको कुल सञ्चालन आम्दानीको लगभग ९० प्रतिशत कच्चा पदार्थको लागत रहेको थियो।
यसरी, समान मूल्यमा हुने कुनै पनि अस्थिरताले कम्पनीको नाफामा असर गर्छ। यसबाहेक, कुल कच्चा पदार्थको आवश्यकता आयातमार्फत पूरा गरिन्छ र त्यसको मूल्य अमेरिकी डलरसँग जोडिएको हुन्छ। जसको लागि कम्पनी विदेशी मुद्रा उतारचढावको जोखिममा पर्दछ।
आर्थिक वर्ष २०२५ मा उद्योगले ५० लाख रुपैयाँको विदेशी मुद्रा घाटा व्योहरेको छ। गत वर्ष बाबाले एक करोड रुपैयाँ विदेशी मुद्रा जेखिम व्योहरेको थियो।
उद्योग नेपाल–भारत सीमाबाट लगभग १५ किलोमिटर दुरी विराटनगरमा अवस्थित छ। विभिन्न देशहरूबाट आयात गरिने बाबा भेजिटेवलका सबै कच्चा पदार्थहरू भारतीय बन्दरगाहहरूमा अनलोड हुने भएकाले कारखानाको सीमासँगको निकटता भाडा लागतमा बचत गर्ने सकारात्मक बिन्दु बनेको छ।
गत वर्ष मुलुकको निर्यात व्यापार ८१.८ प्रतिशत बढेर दुई खर्ब ७७ अर्ब रुपैयाँबराबरका वस्तु निर्यात भएका थिए। जसमध्ये सबैभन्दा बढी एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको थियो।
बाबा भेजिटेबल आयल इन्डस्ट्रिज १९९३ मा स्थापना भएको हो। उद्योग प्लान्ट मोरङको कटहरीमा छ। उद्योगको सोयाविन, पामोलिन र सूर्यमुखी तेलको कुल प्रशोधन क्षमता ४५ हजार टन रहेको छ। बाबाले सिद्ध बाबा ब्रान्ड नाममा नेपालमा खाने तेल बिक्री गर्दै आएको छ।
