काठमाडौँ: नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजैदेखि उक्त दलसँगको यात्रा र अध्याय सकिएको बताएकी छन्। बुधबार नेकपा एमालेमा फर्किन लागेका नेताहरूको पत्रकार सम्मेलनमा उनले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको र अहिले यो आफूहरूको पजको अवस्था भएको बताइन्।
एकीकृत समाजवादी सँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा आफ्नो भएको उनको भनाइ छ। चार वर्षअघि नेकपा एमाले फुटाएर नेकपा एस गठन गरेकोमा बीचमै यात्रा टुंगाउन खोजेको पनि उनले संकेत गरिन्। तर अहिले त्यो अवसर आएकोमा आफूहरू खुसी भएको उनले बताइन्। उनले भनिन्, ‘आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौँ।’
विभाजनले शक्ति आर्जन गर्ने भन्दा पनि झन् ध्वस्त गर्ने उनले बताइन्। ‘समाजलाई पुनर्गठित गर्न आवश्यक छ। विभाजनले कहिले पनि शक्ति आर्जन गरेन। एकताले पनि कहिले लोकतन्त्रलाई जोगाएन। त्यसकारण एकताका सर्तहरू र विभाजनका सर्तहरूमा चलाखीपूर्ण, समाजशास्त्रका नियममा बसेर, मान्छेका मनोविज्ञानमा टेकेर अगाडि जाने गन्तव्यका बारेमा क्लियर भएर दृष्टिगोचर गरेर हामीले हाम्रो यात्रा अगाडि बढाउने हो,’ उनले भनिन्।


