काठमाडौँ- चीनको ग्वाङझाउमा आयोजना हुने १९औं एसियन गेम्सका लागि नेपाल पौडी संघले चार खेलाडी छनौट गरेको छ।
संघका अध्यक्ष अशोक वज्राचार्यका अनुसार संघले आयोजना गरेको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९औं एसियन गेम्सका लागि छानिएको हो। खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको उनले बताए।
छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेन्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा रहेका छन्। एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए।
वैकल्पिक खेलाडीमा पुरुष तर्फ विकास कुमाल र महिला तर्फ अनुशिया तण्डुकार रहेका छन्। कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए।
अध्यक्ष वज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गईरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वर्ल्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन्।


