काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका नेताहरू शंकर पोखरेल र महेश बस्नेतसहितका नेतालाई जेनजीहरूले बाराको सिमरा एयरपोर्टमा गरेको प्रदर्शन जेनजी भावनाको दुरुपयोग भएको बताएका छन्।
परवानीपुरमा हुने प्रदेशस्तरीय भेलामा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत् सिमरा विमानस्थल आउन लागेको सूचना पाएपछि जेनजी समूहहरूले जहाज अवतरण गर्न नदिने भन्दै प्रदर्शन गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय बाराले बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
उक्त घटनाबारे टिप्पणी गर्दै शर्माले सामाजिक संजाल निषेधविरुद्ध उभिने जेनजीकसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन नसक्ने बताए। अत: सिमरा घटना जेनजी भावना नभई त्यसको दुरुपयोग भएको बताउँदै निषेधको राजनीति नगर्न आग्रह गरेका छन्।
उनले आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न नमिल्ने बताए। त्यसले झनै द्वन्द्व बढाउने भएकाले यो समय संयम र एकता राख्नुपर्ने समय भएको उनको भनाइ छ। यतिबेला एमाले चुनावको विपक्षमा उभिएकोमा चुनावमा आउन आग्रह गर्नुपर्ने बेला भएको पनि उनले बताएका छन्।
‘मधेस प्रदेशमा सही कर्म गरेन त, त्यस विरुद्ध दबाब दिऊँ। जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ। तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन,’ सिमरा घटनालाई दु:खद् बताउँदै उनले भनेका छन्।
प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उनले एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? भनेर प्रश्न गरेका छन्।


