काठमाडौँ: एनएमबी बैंकले आफ्ना कर्मचारीहरूका लागि स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ। बैंकका एक अधिकारीका अनुसार यो योजना कर्मचारीहरूको रोजाइमा आधारित वैकल्पिक अवकाश सुविधा हो। जसअन्तर्गत बैंक छोड्ने कर्मचारीलाई उनीहरूको पद तथा तहअनुसार २४ देखि ३० महिनासम्मको तलव सेवासुविधा प्रदान गरिने भएको छ।
यो योजनामा तहअनुसार फरक फरक सेवा सुविधा दिइन्छ। व्यवस्थापक पदभन्दा माथिका कर्मचारीले बैंक छोड्न चाहेमा २४ देखि ३० महिनासम्मको सेवासुविधा पाउने व्यवस्था रहेको ती अधिकारीले नेपाल क्लिक्सलाई बताए।
त्यस्तै, व्यवस्थापकभन्दा तलका अधिकृत तथा अफिसर तहका कर्मचारीलाई भने २५ देखि ३० महिनासम्मको सेवासुविधा प्रदान गरिने भएको छ।
‘व्यवस्थापकभन्दा तलका अधिकृत तथा अफिसर तहका कर्मचारीको तलब थोरै हुने भएकाले धेरै महिनाको सेवासुविधा बैंकले दिन्छ। तहअनुसार फरक सुविधा दिइने भएकाले कर्मचारीले आफ्नै स्तरअनुसार निर्णय लिन सक्छन्,’ ती अधिकारीले भने।
बैंकले यो योजना एक महिनाका लागि ल्याएको हो। एक महिनाको अवधि सकिएको भने छैन। कर्मचारीले आवेदन दिइरहेका छन्। हालसम्म करिब ८० भन्दा बढी कर्मचारीहरूले आवेदन दिइसकेको बैंक स्रोतले बतायो।
अधिकारीका अनुसार अफिसर तहभन्दा तलका कर्मचारीका लागि ३० महिनासम्मको सेवासुविधा सबैभन्दा आकर्षक मानिएको छ। बैंकले समय–समयमा पाँच वर्षभन्दा बढी काम गरिरहेका कर्मचारीका लागि यस्तो योजना ल्याउने गरेको छ। तर, यसले कहिलेकाहीँ राम्रो काम गर्ने अनुभवी कर्मचारी गुमाउने जोखिम पनि रहन्छ।
‘यो पूर्ण रूपमा स्वेच्छिक योजना हो। कोही पनि कर्मचारीलाई जबर्जस्ती राखिँदैन। राम्रो कर्मचारीलाई रोक्ने प्रयास भने गरिन्छ, तर जाने निर्णय गरेपछि रोक्न सकिँदैन,’ अधिकारीले भने।
भीआरएस स्वीकृत भएपछि पनि कर्मचारीले केही समय बैंकमै बस्नुपर्ने हुन्छ, किनकि बैंकले प्रतिस्थापनका लागि नयाँ जनशक्ति भर्ना गर्नु पर्ने आवश्यकता पर्छ। बैंकबाट अवकास लिएपछि कर्मचारीले अन्य संस्थामा काम गर्न कुनै पनि रोकावट नहुने बताइन्छ।
एनएमबी बैंकले विगतमा मर्जर प्रक्रियाका समयमा आएका कर्मचारीलाई पनि भीआरएस सुविधा दिएको थियो। हाल भने बैंकले आफ्नै आवश्यकता, संरचना र दीर्घकालीन मानव स्रोत व्यवस्थापन रणनीतिअनुसार यो योजना ल्याएको जनाएको छ। अधिकारीका अनुसार अन्य बैंकहरूले पनि समय–समयमा यस्ता योजना लागू गर्ने गरेका छन्।


