काठमाडौँ: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारले मिश्रित नतिजा देखाएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा निर्यात व्यापारमा ७७.५१ प्रतिशतको सुधार देखिए पनि आयातको उच्च दर कायमै रहँदा व्यापार घाटाको खाडल भने पुरिन सकेको छैन।
यस अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५१ प्रतिशतले वस्तु तथा सेवाको निर्यात बढेको छ। साउनदेखि कात्तिकसम्म ९३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढिको वस्तु निर्यात गरेको विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष पहिलो चौमासिकमा नेपालले ५२ अर्ब ७७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो।
निर्यातसँगै यसअवधिमा आयात पनि बढेको छ, निर्यात र आयात दुवैको ग्राफ उकालो लाग्दा समग्र वैदेशिक व्यापारको आकार बढेको छ। चालु आवको पहिलो चार महिनामा १८.७१ प्रतिशतले आयात बढेको तथ्यांकले देखाउँछ। यो अवधिमा नेपालले ६ खर्बभन्दा बढी वस्तु तथा सेवा भन्सारमार्फत् आयात गरेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यो अवधिमा ५ खर्ब १३ अर्बको आयात भएको थियो।
यो आर्थिक वर्षको पहिलो चौमासिकमा कुल वैदेशिक व्यापारको दर समेत बढेको छ। अघिल्लो वर्षको तुलनामा २४.१८ प्रतिशतले वैदेशिक व्यापार बढेको भन्सार विभागले जनाएको छ।


