काठमाडौँ: झण्डै ८ वर्षअघि नेपालमै हुन्डाई र कियाका गाडी उत्पादन तथा एसेम्बलिङ गर्ने योजनासहित कोरियाली गाडी उत्पादक मोट्रेक्स मोटर कम्पनीले लगानी बोर्डमा प्रस्ताव गरेको थियो। प्लान्टको काम अघि बढाउन लगानी बोर्ड र मोट्रेक्सबीच सन् २०१९ मा परियोजना लगानी सम्झौता (पीआईए) मा हस्ताक्षर समेत भैसकेको थियो।
मोट्रेक्सले अन्त:शुल्क र भन्सारमा छुट मागेकोमा कुरा नमिलेपछि दुई वर्षअघि उक्त कम्पनी नेपालबाट फिर्ता गयो।
मोट्रेक्स फिर्ता गएको दुई वर्षपछि नेपालमै गाडी उत्पादनदेखि मर्मत सुविधासहितको सेवा दिन एक विदेशी कम्पनीले प्रस्ताव गरेको छ। हङकङको ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड अटो सर्भिस ईको–इन्डस्ट्रियल पार्क परियोजना बनाउन प्रस्ताव गरेको हो। प्रस्तावित परियोजनालाई १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
यही मंसिर ३ मा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको लगानी बोर्डको ६७ औँ बैठकले हङकङको ब्लेजपिक ग्लोबल ग्रुपसँग समझदारीपत्र (एमओयू) गर्न बोर्ड व्यवस्थापनलाई अनुमति दिएको छ। बैठकले ब्लेजपिक ग्लोबललाई आह्वान नगरिएको प्रस्तावका रूपमा पेस भएको अटो सर्भिस ईको–इन्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
लगानी बोर्ड र ब्लेजपिक ग्लोबलसँग अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना अघि बढाउन एमओयू हुन लागेको छ। ब्लेजपिक सम्पर्कमा रहेकाले छिट्टै एमओयू हुने लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले बताए।
कम्पनीले गाडी उत्पादनका साथै मर्मत सेवा एकैछिनमा दिने उद्देश्यले नेपालमा अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना अघि बढाउन लागेको उनले जानकारी दिए। कस्तो सेवा दिने भन्ने कुरा प्रारम्भिक अवस्थामा रहेकाले सम्भाव्यता अध्ययन गरेर रिपोर्ट बुझाएपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।
एमओयू गरेर सर्वे लाइसेन्स पाएपछि उसले संभाव्यता अध्ययन गर्नेछ। सम्भाव्य देखिए मात्र काम अघि बढ्नेछ। पार्कका लागि कम्पनीले ठाउँ प्रस्ताव गरेको छैन। फास्ट ट्रयाक वरिपरी हुन सक्ने संभावना रहेको अधिकारीले बताए।
करमा कुरा नमिल्दा कोरियाली कम्पनी फिर्ता
८ वर्षअघि कोरियन कम्पनी मोट्रेक्सले नेपालमै गाडी एसेम्बल गर्न लगानी बोर्डमा प्रस्ताव गरेको थियो। सोहीअनुसार सन् २०१९ डिसेम्बर ११ मा लगानी बोर्ड नेपालसँग परियोजना लगानी सम्झौता (पीआईए) भएको थियो। उक्त कम्पनीले १० अर्ब ५४ करोड रूपैयाँ लगानी गर्ने, सुरुमा सन् २०३० सम्ममा पहिलो चरणमा हुन्डाई र कियाका बिजुली गाडी उत्पादन गर्ने, पछि क्रमश: बिजुली गाडी उत्पादन गर्नेलगायतको प्रस्ताव गरेको थियो।
उक्त कम्पनीलाई बुटवलको मोतिपुर औद्योगिक क्षेत्रभित्र एक सय रोपनी जग्गा भाडामा दिने विषय पनि लगभग टुंगिसकेको थियो। तर कर छुटमा भने सहमति जुट्न सकेको थिएन। कम्पनीले भन्सार महसुलमा ७० प्रतिशत र अन्तःशुल्कमा ८० प्रतिशत छुट मागेको थियो। उक्त विषयमा पटक पटक लगानी बोर्ड, अर्थ मन्त्रालयलगायत निकायबीच छलफल भएको थियो। दुवै पक्षले लामो समयदेखि आ–आफ्नो अडान नछाडेपछि अन्तत: मोट्रेक्सले बाहिरिने निर्णय गरेको थियो।


