काठमाडौं – म्यानमारमा भर्खरै सम्पन्न भएको एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले चीनसँग ५–० को हार बेहोरेको छ।
बुधबार म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाललाई चीनले हराएको हो। पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेपछि नेपाल बाहिरएको हो।
यो हारसँगै नेपालको छनोट हुने सम्भावना पनि सकिएको छ। यता, चीनले भने दुवै खेलमा जित निकालेर छनोटको सम्भावनालाई कायम राखेको छ।

आजको खेलमा १६ औं मिनेटमै नेपालले गोल बेहोरेको थियो। ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाएका थिइन्। होउ यूसीले २६ औं मिनेटमा र पहिलो हाफको इन्जुरी समयमा यिन ली होङले गोल गर्दा चीन ३–० ले अघि रह्यो।
तर चीन त्यतिमा रोकिएन। पहिलो हाफको इन्जुरी समयमै लु जुआयूले गोल गर्दै चीनको खातामा पाँच गोल पुर्याइन्। दोस्रो हाफमा भने नेपालले केही सुधारिएको प्रदर्शन गर्यो। सुरुआतबाटै डिफेन्सिभ खेल्ने योजना बनाएको नेपालले दोस्रो हाफको ८९ औं मिनेटमा गोलको सामना गरेको थियो। चीनकी यू जियाकीले गोल गर्दै ५–० को जित सुनिश्चित गरिन्।

पहिलो खेलमा पनि हार बेहोरेको नेपालले आज पनि फराकिलो हार बेहोरेको छ। नेपालले पहिलो खेलमा म्यानमारसँग ५–० कै हार बेहोरेको थियो।
दोस्रो जितसँगै चीनको ६ अंक भएको छ भने नेपाल अंकविहिन छ। चीनले पहिलो खेलमा चाईनिज ताइपेलाई १–० ले हराएको थियो। अब नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।
खेलपछि नेपाली टिमका प्रशिक्षक याम प्रसाद गुरुङले बलियो टिमसँग राम्रो खेलेको बताएका छन्। उलने भने, ‘माथिल्लो स्तरको बलियो टिमसँग, ठूलो देशसँग कमजोर हाम्रो टिमले दोस्रो हाफमा राम्रो कमब्याक गरेको हो। पहिलो हाफमा दुई गोलको अवसर पाएको थियो। तर हाम्रै गल्तीले गोल गर्न सकेनन्। चाइनासँग फाइट दिनु राम्रो हो।’
उनले चाइनिज ताइपेइसँगको खेलमा अझै राम्रो खेल्ने बताएका छन्।





