काठमाडौँ: अर्थतन्त्र सुस्त हुँदा यसको असर उत्पादनमूलक उद्योगमा परेको छ। तर, सौरभ ग्रुपले सञ्चालन गरिरहेको सर्वोत्तम स्टिल लिमिटेडको टीएमटी छड व्यापार २७ प्रतिशत बढेको छ।
सर्वोत्तमले एक वर्षमा आठ अर्ब ७२ करोड ६० लाख रुपैयाँ बराबरको डण्डी, बिलेट र वायर व्यापार गरेको छ। गत वर्ष उद्योगले छ अर्ब ८५ करोड ८० लाख रुपैयाँको डण्डी व्यापार गरेको थियो। एक वर्षमा उद्योगको छड व्यापार एक अर्ब ८६ करोड रुपैयाँ बढेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
२०२३ मा सात अर्ब ७५ करोड ३० लाख र २०२२ मा आठ अर्ब ९३ करोड ४० लाख रुपैयाँ डण्डी व्यापार गरेको छ। उद्योगले छ अर्ब ४४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
कूल व्यापारमा टीएमटी छडको हिस्सा ९० प्रतिशत रहेको छ। बाँकी हिस्सा बिलेट र बाइन्डिङ वायरको रहेको छ। व्यापार बढेपछि उद्योगको मार्जिन पनि सुधार आई ८.३६ प्रतिशत पुगेको छ।
अघिल्लो वर्ष मार्जिन ८.३५ प्रतिशत थियो। सन् २०२३ को ४.८० प्रतिशत थियो। उद्योगले रड निर्माणका लागि आवश्यक कच्चा वस्तु बिलेटहरू पनि उत्पादन गर्छ। सर्वोत्तमको कुल उत्पादन क्षमता सात लाख ६४ हजार १६० टन रहेको छ। जसमा ५१ प्रतिशत बिलेट र बाँकी ४८ प्रतिशत रड र बाँकी वायरको हिस्सा रहेको छ।
बिलेट उत्पादनका कारण उद्योगको लागत दक्षतामा सुधार ल्याउने र स्टील उत्पादनका लागि बाह्य आपूर्तिकर्ताहरूमा निर्भरता कम गर्ने अपेक्षा गरिएको छ। यो रणनीतिक पहलले विशेष गरी बजारमा उतार–चढाव र आपूर्ति श्रृंखला अवरोधहरूको समयमा प्रतिस्पर्धी स्थितिलाई पनि बलियो बनाउँछ।
सर्वोत्तमले मुख्यतया भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गर्छ। तिनै वस्तुको प्रशोधनबाट बिलेट उत्पादन हुने गरेको छ।
कच्चा पदार्थहरूको मूल्यहरू बजारसँग जोडिएको र आवधिक आधारमा सेट गरिएको हुनाले उद्योगलाई मूल्य अस्थिरताको सामना गर्नुपर्छ जसले प्रत्यक्ष रूपमा नाफामा असर गर्छ।
आर्थिक वर्ष २०२५ मा कच्चा पदार्थको लागत कुल सञ्चालन आयको लगभग ७० प्रतिशत रहेको छ। जसले गर्दा नाफा मूल्य परिवर्तनप्रति अत्यधिक संवेदनशील छ।
फलाम तथा इस्पातमा धेरै साना तथा ठूला, संगठित र असंगठित उद्योगहरू सञ्चालनमा छन्। जसले गर्दा यो व्यवसायलाई तीव्र रूपमा प्रतिस्पर्धी बनाएको छ।
फलाम तथा इस्पात उत्पादनहरूको माग चक्रीय मानिन्छ र नयाँ खेलाडीहरूको प्रवेशका साथै अवस्थित खेलाडीहरूद्वारा गरिएको पर्याप्त क्षमता विस्तारका कारण उद्योगको ठूलो क्षमता वृद्धि भएको छ।
उद्योग सन् २०१७ मा स्थापना भएको हो। प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न २०२१ मा सर्वोत्तम पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। उद्योग प्लान्ट वीरगञ्जमा छ। उद्योगले टीएमटी स्टिल बार, बिलेट र वायरहरू उत्पादन गरिरहेको छ।
सौरभ ग्रुप स्टिलका साथै सिमेन्ट, स्पिनिङ मिल र चिया उत्पादनमा संलग्न छ। उद्योग सर्वोत्तम स्टिलका साथै जगदम्बा स्पिनिङ मिल्स, जगदम्बा सिमेन्ट, सर्वोत्तम सिमेन्ट लिमिटेड र लक्ष्मी स्टिल सञ्चालन गरिरहेको छ।


