काठमाडौँ: नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा विदेशी लगानीकर्ताहरूको लगानी बढ्दै गएको छ।
उद्योग विभागमा दर्ता भएका उद्योगहरूको सूचीमा यस्ता कम्पनीहरूको संख्या उल्लेख्य बढेको देखिन्छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर संख्यामा विदेशी लगानीकर्ताहरूले दर्ता स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ। हालसम्म ८४० विदेशी लगानीहरूले उद्योग दर्ताको स्वीकृति प्राप्त गरिसकेका छन्। अघिल्लो वर्ष यही समयभित्र ४०२ विदेशी लगानीकर्ताहरूले मात्र उद्योगमा लगानी स्वीकृति पाएका थिए।
‘यसरी दर्ता हुनेमा आईटी सम्बन्धि उद्योगहरू धेरै छन्’ विभागका निर्देशक प्रशान्त बोहोराले भने ‘नेपालमा आईटी क्षेत्रमा भित्रिएको लगानी हेर्दा यो क्षेत्रमा चाँडै नेपालले फड्को मार्न सक्ने देखिन्छ।’ हाल नेपालमा २०५ भन्दा बढि आईटी सम्बन्धि उद्योग वैदेशिक लगानीमार्फत सञ्चालन भईरहेका छन्। आईटी पछि सेवा उद्योगहरूको दर्ता बढी भएको विभागको तथ्याङ्कले देखाउँछ।
उद्योग दर्तादेखि सञ्चालनसम्म सहज गराइने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग व्यवसायलाई लक्षित गरी विभिन्न विभिन्न सहुलियत पनि प्रदान गर्ने भएको छ। बजेटले सम्बोधन गरेअनुसार मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई शुरुको तीन वर्ष भाडा छुट दिने जानकारी दिएको छ।
त्यस्तै विशेष आर्थिक क्षेत्रको मासिक भाडादर पनि प्रतिवर्गमिटर २० रुपैयाँबाट ५ रुपैयाँमा झारी उद्योगीहरूलाई सहज गराएकोछ। त्यस्तै काठमाडौंमा हाल सञ्चालनमा रहेका उद्योगहरूका कारण प्रदुषण बढेको गुनासो आउन थालेपछि मन्त्रालयले त्यस्ता उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण हुन प्रोत्साहन गर्ने गरि निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएको छ।
हाल नेपालमा १० हजार २१९ उद्योगहरू विभागमा दर्ता भएर सञ्चालनमा रहेका छन्। सरकारले उद्योगहरूलाई व्यवस्थित बनाउन नेपालभर हाल १० वटा औद्योगिक क्षेत्र सञ्चालन गरिरहेको छ। उपत्यकामा पाटन, बालाजु, भक्तपुरसँगै, हेटौडा, पोखरा, धरान, नेपालगञ्ज, बुटवल, वीरेन्द्रनगर, धनकुटा र राजविराजमा हाल सरकारले औद्योगिक क्षेत्र घोषणा गरी उद्योगीहरूलाई समेटेको छ। पछिल्लोपटक मन्त्रालयले सात वटा थप औद्योगिक क्षेत्र घोषणा गरेकोमा त्यसको काम पनि अगाडि बढाईने जनाएको छ।


