काठमाडौं। सरकारले विभिन्न सात उद्योगलाई सिमेन्टको कच्चा वस्तु क्लिङकर उत्पादनका लागि चुनढुङ्गा र फलाम उत्खनन गर्न स्वीकृति दिएको छ।
मन्त्रिपरिषद बैठकले शक्ति मिनिरल्स, त्रिशक्ति होल्डिङ्गस रिद्धि सिद्धि सिमेन्ट लिमिटेड, बाबा माइन्स एन्ड मिनिरल्स, विग प्लस मिनिरल्स, केके लाइम्स एण्ड इन्डस्ट्रिज र अन्नपूर्ण मिनिरल्सलाई खानी उत्खननका लागि अनुमति दिएको हो।
त्रिशक्ति होल्डिङ्गसले चुनढुङ्गा उत्खनन गर्न चितवनको राप्ती नगरपालिका–१३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न पाउने भएको छ।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुङ्गा उत्खनन गर्न मकवानपुरको भीमफेदी गाउँपालिका–७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ।
बाबा माइन्स एन्ड मिनिरल्सलाई चुनढुङ्गा उत्खनन कार्यका लागि मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
विग प्लस मिनिरल्सलाई ग्रेनाइट उत्खनन कार्यका लागि मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।
यसैगरी के.के लाइम्स एण्ड इन्डस्ट्रिजलाई चुनढुङ्गा उत्खनन कार्यका लागि उदयपुरको चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको दुई हेक्टर जग्गा प्रयोग गर्न पाएको छ।
अन्नपूर्ण मिनिरल्सलाई फलाम उत्खनन कार्यका लागि मकवानपुरको बागमती गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले बताए।
मुलुकमा ७५ सिमेन्ट उद्योग सञ्चालनमा छन्। ती मध्ये २० क्लिङकर उत्पादन र बाँकी ५५ सिमेन्ट उत्पादन गर्ने उद्योग छन्।


