काठमाडौँ: गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। बुधबार दिउँसो शाक्यलाई सीआईबीले ललितपुरको जावलाखेलस्थित भनिमण्डलबाट पक्राउ गरेको हो।
राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानुनविपरीत काम गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुका नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।
तीन दिनअघि यसै प्रकरणमा प्रभु बैंकका सीईओ अशोक शेरचन, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको थियो।
यसै प्रकरणमा पक्राउ परेका भु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन स्वास्थ्य अवस्थाका कारण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्णयले हाजिरी जमानीमा छुटेका थिए।


