काठमाडौँ: काठमाडौँस्थित त्रिभुवन क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।
सुदूरपश्चिमले २० ओभरमा चार विकेटको क्षतिसहित १६९ रन बनाएको हो। सुदूरपश्चिमका तर्फबाट क्रिस लिनले सर्वाधिक ७५ रन बनाएका छन्। ५६ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरेका छन्।
इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए।
चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक/एक विकेट लिए।
चितवनले टस जितेर बलिङ गरेको थियो। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ।
सुदूरपश्चिम भने पाँच खेलमा पाँचवटै जितेर १० अंकको अग्रस्थानसहित यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ। यस्तै आजै भएको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्लेअफ सुरक्षित गरेको छ।


