सरकारी कार्यालयको गरिमा, बहुराष्ट्रिय कम्पनीको अनुभव र बैंकिङ क्षेत्रको १३ वर्षे सन्तुलित करिअर। ३२ वर्ष लामो यो प्रभावशाली यात्रा धेरैलाई जीवनको प्राप्तिको उच्चतम् विन्दु भन्ने लाग्न सक्छ। तर, सुष्मा शर्माले त्यही विन्दुबाट नयाँ मोड लिइन्, जुन विन्दु धेरैको सपनाको उचाई हो।
सफलता, स्थिरता र अनुभवको शिखरमा पुगेर पनि सुष्माको मन शान्त थिएन। मनमा एउटा हुटहुटी चलिरहन्थ्यो– अरूका लागि धेरै गरियो, अब आफ्नै सपना र समाजका लागि केही गर्ने बेला आयो।
यही हुटहुटीले उनलाई एउटा सुरक्षित घेराबाट बाहिर निकाल्यो र जन्म भयो— ‘फूलप्रसाद’।
हामी मन्दिरमा जान्छौं, फूल चढाउँछौं र फर्कन्छौं। ती फूलहरू केही क्षणमै ‘फोहोर’ बनेर फालिन्छन्। सुष्माले दैनिक फालिने तिनै फूलहरूको थुप्रोमा फोहोर होइन, अवसर देखिन्।
सन् २०१८ को डिसेम्बरमा उनले औपचारिक रूपमा ‘फूलप्रसाद’को स्थापना गरिन्। अवधारणा स्पष्ट थियो— मन्दिर र घरघरबाट विसर्जित फूलहरू संकलन गर्ने र त्यसलाई पुनः प्रशोधन गरी अर्गानिक धूप तथा अगरबत्ती बनाउने। ‘फूलप्रसाद’ अर्गानिक धूप उद्योग, जसले आज स्टार्टअप कर्जाको सहायतामा अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो सुगन्ध फैलाइरहेको छ।
000
उनले आफ्नो जागिरे जीवन शिक्षण पेसाबाट सुरु गरिन्। त्यसपछि कृषि उद्योगतर्फ यात्रा मोडिन्। डाबर नेपाल, सूचना प्रविधि आयोग हुँदै एनएमबी बैंकसम्म पुगिन्। सफलता, स्थिरता र अनुभव सबै भएको यस अवस्थामा पनि उनको मनमा एउटा चाहना बाक्लिँदै गइरहेको थियो। अरुका लागि हैन, आफ्नै सपना शाकार गर्नुपर्छ भन्ने भावनाले उद्यमतर्फ मोडिइन्। र, स्थापना गरिन् ‘फूलप्रसाद’ ब्रान्ड।
तर, उद्यम सुरु गरेको केही महिनामै विश्वव्यापी महामारी कोभिड–१९ ले धक्का दियो। मन्दिरहरू बन्द भए, बजार ठप्प भयो। तर, सुष्माले यसमा पूर्णविराम दिइनन्, निरन्तर यात्रामा जुटिरहिन्।
लकडाउनका दिनहरूमा घरमै बसेर फूल प्रशोधन, धूप बनाउने विधि, प्याकेजिङ डिजाइन तथा उत्पादन प्रक्रियामा आवश्यक सीपहरू सिकिन्। ‘उद्यमी भनेकै समस्याभित्र अवसर भेट्ने व्यक्ति हो,’ उनले भनिन्। कोभिडको समय नै उनको सीप निर्माण, अनुसन्धान र उत्पादन सुधारको समय बन्यो।
त्यही धीरताको परिणाम, आज फूलप्रसादले २५ भन्दा बढी प्रकारका अर्गानिक धूप उत्पादन गर्छ। फूल संकलनको प्रक्रिया बिहानैदेखि सुरु हुन्छ। पशुपति, गुह्येश्वरी, वसन्तपुर, लगायतका स्थानमा फूलप्रसादले ‘फूल मलाई’ लेखिएको बास्केट राखेर फूल संकलन गरिन्छ। संकलित फूलहरू प्रशोधन गरेर धूप उत्पादन गरिन्छ।
कम्पनीमा हाल ७ जना प्रोसेसिङ र ५ जना प्याकेजिङ कर्मचारी छन्। त्यस्तै, ६०–७० जना महिला घरमै बसेर धूप बनाउने काममा संलग्न छन्। यी महिलाहरूले घरमै बसेर महिनामा ५ हजारदेखि १८ हजारसम्म कमाइ गर्न सक्ने वातावरण फूलप्रसादले बनाइदिएको छ। यसरी उद्यम मात्र चलेको छैन, स्थानीय महिलाको आर्थिक सशक्तिकरणमा पनि ठूलो योगदान पुगेको छ।
४ लाख रुपैयाँ लगानीबाट सुरु भएको फूलप्रसाद, हाल एक करोड रुपैयाँभन्दा बढी वार्षिक कारोबार गर्ने ब्रान्ड बनेको छ। ६५ रुपैयाँदेखि १५०० रुपैयाँसम्मका उत्पादन बजारमा उपलब्ध छन्। विशेषतः ‘गिफ्ट कन्सेप्ट’का धूपहरू २०१९ देखि नै लोकप्रिय बन्दै आएका छन्।
फूलप्रसादको दिगो विकासमा स्टार्टअप कर्जाले विशेष भूमिका खेलेको सुष्मा बताउँछिन्। सरकारले प्रधान गर्दै आएको स्टार्टअप कर्जाको ८१/८२ को ब्याचमा आवेदन दिएर उनले आफूलाई आवश्यक कर्जा रकम प्राप्त गरिन्। यही कर्जाबाट उनले फूल संकलनका लागि गाडी किनिन्। ‘मलाई फूल बोक्नको लागि गाडि चाहिएको थियो। सरकारको कर्जाले त्यो पूरा भयो, ‘ उनले भनिन्।
साथै, सरकारले प्रधान गरिरहेको स्टार्टअप कर्जाले सानो व्यवसाय गर्नेहरूको लागि धेरै सहयोग गरेको उनी बताउँछिन्। तर कर्जाको सीमा भने बढाउनुपर्ने उनको भनाइ छ। ‘यदि सरकारी बैंकसँगै प्राइभेट बैंकमा पनि यो सुविधा हुने र कर्जाको सीमा बढ्ने हो भने प्रक्रिया अझ सहज र समयमै हुनुका साथै व्यवासयमा मद्दत पुग्थ्यो थियो,’ उनले भनिन्।
फूलप्रसादका उत्पादनहरू अमेरिका, युरोप, जापान, चीन लगायत ६ देशमा निर्यात हुन्छन्। विशेषगरी तीतेपाती सुगन्धको धूपको माग अत्यधिक छ, किनकि कोभिडपछिका दिनमा उपभोक्ताहरू स्वास्थ्यप्रति बढी सचेत बन्दै गैरअर्गानिक धूपको प्रयोग घटाउँदै गएका छन्। प्राकृतिक सुगन्ध, क्यामिकल–फ्रि उत्पादन र वातावरणमैत्री अवधारणाका कारण फूलप्रसाद अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो स्थान बनाइरहेको छ।
सुष्मा केवल उद्यमी मात्र होइनन्—मोटिभेसन स्पिकर, उद्यमशीलता प्रशिक्षक तथा युजीसीको स्टार्टअप स्टेरिङ कमिटी सदस्यसमेत हुन्। उनी भन्छिन्, ‘हामीले बच्चालाई कुन देश जान्छस्? भनेर होइन, के व्यवसाय गर्छस् भनेर हुर्काउनुपर्छ। सोच बदलियो भने देश बदलिन्छ।’
प्रयोग भएर फालिएका फूलको जीवन बचाउँदै सुरु भएको सानो प्रयास आज सफल, दिगो र प्रेरणादायी उद्यम बनेको छ। सुष्माले भनिन्फ, ‘फोकस, डेडिकेसन र पैसाभन्दा ठूलो कुरामाथि भरोसा गर्न सकियो भने उद्यमीले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।’


