काठमाडौँ: नेपाल चिया विकास निगम लिमिटेड निजीकरण भएको २४ वर्ष पुगेको छ। निगम व्यावसायिक घराना त्रिवेणी ग्रुपले खरिद गरेको हो। निजीकरणको झण्डै साढे दुई दशकपछि त्रिवेणीले निगमको साधारण शेयर (आइपीओ) निष्काशनको प्रक्रिया अघि बढाएको छ।
निगमको गत शुक्रबार बसेको १९७ औं सञ्चालक समिति बैठकले यही पुस २९ मा २४ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा निगमले शेयर निष्काशन प्रक्रियालाई निरन्तरता दिने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ। सभाबाट पारित भएपछि आईपीओ निष्काशन प्रक्रिया अघि बढ्नेछ।
सरकार र त्रिवेणीका सञ्चालक पुरुषोत्तमलाल संघाईबीच २०५७ असार १४ मा निगम निजीकरण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। कम्पनी निजीकरण भएको २४ वर्ष बितेको छ। निगम २०३० माघ ११ मा स्थापना भएको हो।
निजीकरण प्रक्रियाअन्तर्गत निगमको ६५ प्रतिशत शेयर २६ करोड ७१ लाख ५ हजार रुपैयाँ कायम गरी प्रतिवर्ष २ करोड ८० लाख १ हजार रुपैयाँ भाडा बुझाउने गरी ५० वर्षका लागि सम्झौता त्रिवेणी ग्रुपसँग सम्झौता भएको छ। निगममा सरकारको ३५ प्रतिशत हिस्सा रहेको छ।
निगमको चुक्ता पुँजी २० करोड रुपैयाँ छ। सरकारको सात करोड रुपैयाँ लगानी रहेको छ। निगमको खुदसम्पत्ति ६१ करोड ९२ लाख रुपैयाँ छ। आर्थिक वर्ष ०८००८१ सम्मको सञ्चित नाफा ४१ करोड ९२ लाख रुपैयाँ छ।
सरकार र खरिदकर्ताबीच शेयर खरिदबिक्री र जग्गा भाडासम्बन्धी अलग सम्झौता भएको थियो। खरिदकर्ताले २० करोड ३ लाख ३० हजार शेयर बापतको रकम सरकारलाई बुझाई बाँकी ६ करोड ६७ लाख ७५ हजार रुपैयाँको बैंक ग्यारेन्टी राख्ने भनिएको थियो। सम्झौतामा सरकारले चिया विकास निगमलाई ५ हजार १९६ एकड जग्गा उपलब्ध गराउने सर्त थियो।
चिया विकास निगमले विभिन्न ७ वटा बगान सञ्चालन गरिरहेको छ। निगमले टोकला ब्राण्डको चिया उत्पादन गर्दै आएको छ।
त्रिवेणी ग्रुको सिमेन्ट, चिया, ग्यास, खानेतेल, चिनी, बैंक तथा वित्तीय क्षेत्र, बिमा र जलविद्युतमा ठूलो लगानी रहेको छ। पछिल्लो समय विशाल ग्रुपसँगको साझेदारीमा त्रिवेणीले जलविद्युतमा आक्रामक भएर लगानी बढाइहेको छ।
त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानीमा ५४ मेगावाटको लिखु चार र ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना सञ्चालनमा छन्।
यस्तै १८० मेगावाटको कालिगण्डकी गर्ज आयोजना पनि साझेदारीमा बनाउन सम्झौता भइसकेको छ। दुई ग्रुपले आयोजनाको ५१ प्रतिशत स्वामित्व खरिद गरेका छन्।



