इस्लामाबाद,एएफपी। पाकिस्तानले आफ्नो राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआइए) को निजीकरण गर्न लागेको छ। एयरलाइन्स खरिदका लागि तीन वटा बोलपत्र प्राप्त गरेको छ।
घाटामा परेका सरकारी स्वामित्वका संस्थाहरू निजीकरण गर्ने इस्लामाबादको प्रयासका लागि यस प्रक्रियालाई महत्त्वपूर्ण परीक्षा अर्थात् ‘लिटमस टेस्ट’ का रूपमा हेरिएको छ।
लामो समयदेखि आलोचनाको घेरामा परेको पीआइएलाई खराब व्यवस्थापन र कमजोर सञ्चालनका कारण समस्याग्रस्त संस्था मानिँदै आएको छ। देश भुक्तानी सन्तुलनको गम्भीर संकटसँग जुधिरहेका बेला सरकारी कोष सुक्दै गएपछि एयरलाइन्सलाई निजीकरण गर्ने दबाब बढेको हो।
तीनवटा बिडिङ कन्सोर्टियमका प्रतिनिधिहरूले पीआइएको ७५ प्रतिशत सेयर खरिदका लागि आफ्नो प्रस्ताव पारदर्शी बक्समा पेश गरेका छन्।
एउटा कन्सोर्टियमको नेतृत्व निजी पाकिस्तानी एयरलाइन्स एयर ब्लुले गरेको छ भने अर्को लकी सिमेन्ट र तेस्रो लगानी कम्पनी आरिफ हबीब समूहको नेतृत्वमा रहेको छ।
प्रधानमन्त्री शाहबाज सरिफले बोलपत्र प्रक्रिया प्रत्यक्ष टेलिभिजनमार्फत प्रसारण गरिएपछि मन्त्रिमण्डललाई सम्बोधन गर्दै यो प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्नेमा जोड दिए।
उनले भने, “यो पाकिस्तानको इतिहासकै सबैभन्दा ठूलो लेनदेन हुन गइरहेकाले यसलाई पारदर्शी बनाउनु अनिवार्य थियो।” प्रधानमन्त्री सरिफले बोलपत्र सफल भएमा औपचारिक रूपमा निजीकरण प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
सरकारले बुधबार पिआइएको सन्दर्भ मूल्य सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि तोकिएको न्यूनतम मूल्य पूरा भएमा विजेता कन्सोर्टियमको घोषणा गरिने अधिकारीहरूले बताएका छन्।
यसअघि गत वर्ष गरिएको निजीकरण प्रयास असफल भएको थियो। त्यस बेला आएको एक मात्र तीन करोड ६० लाख डलरको बोलपत्र सरकारले अपेक्षा गरेको ३० करोडदेखि ३० करोड ५० लाख डलरभन्दा निकै कम भएपछि प्रक्रिया रोकिएको थियो।
पाकिस्तान स्टक एक्सचेन्जबाट डिलिस्ट हुनुअघि पीआइएले सन् २०२२ को पूर्ण वर्षका लागि करिब ८५ करोड ४० लाख डलर आम्दानी गरेको भए पनि करिब ४३ करोड ७० लाख डलरको शुद्ध घाटा व्यहोरेको थियो।
इस्लामाबादले सन् २०२४ मा अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) सँग भएको सात अर्ब डलरको ऋण सम्झौताअन्तर्गत सन् २०२९ सम्म वित्त, ऊर्जा, औद्योगिक तथा खुद्रा क्षेत्रका दर्जनौँ घाटामा रहेका सरकारी उद्यमहरू निजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
खराब व्यवस्थापन र भ्रष्टाचारका कारण ती संस्थाहरूले अर्बौं डलरको नोक्सान व्यहोरेका छन्। जसले सरकारलाई निरन्तर बजेटबाट अनुदान दिन बाध्य बनाएको छ।
सन् १९५५ मा स्थापना भएको पीआइए एक समय राष्ट्रिय गौरव र तीव्र आर्थिक प्रगतिको प्रतीक मानिन्थ्यो। तर, लामो समयदेखिको आर्थिक घाटा र सुरक्षा सम्बन्धी समस्याले यसको छवि कमजोर बनेको छ।
सन् २०२० को जुनमा कराचीमा एक एयरबस ए–३२० विमान दुर्घटनाग्रस्त भई करिब १०० जनाको ज्यान गएको एक महिनापछि युरोपेली संघ (इयु), बेलायत र अमेरिकाले पीआइए उडानमा प्रतिबन्ध लगाएका थिए।
यस वर्ष युरोप र बेलायतले पीआइएलाई पुनः उडानको अनुमति दिएका छन्। तर, अमेरिकाका लागि उडान अझै पुनः सुरु हुन सकेको छैन। अधिकारीहरूका अनुसार पीआइएको ३४ वटा विमानको फ्लीटमध्ये हाल १८ वटा मात्र सक्रिय सेवामा रहेका छन्।
