काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतदेखि नै आन्दोलनमा पहिलो तारो निजी क्षेत्र बन्दै आएको बताएका छन्।
बुधबार कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको राजावादी आन्दोलन, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो बनेको बताए।
यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको उनको भनाई छ।
अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इञ्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेकोमा जोड दिए। त्यसो भयो भने मात्र आगामी दिनमा निजी क्षेत्रले यस्तो अवस्था भोग्नु नपर्ने स्पष्टपारे।
कहिले भूकम्प, कहिले कोभिड महामारी तथा कहिले अन्य कारणले संकटमा परिरहेको मुलुकको अर्थतन्त्र र समग्र निजी क्षेत्र नै अहिले आगजनीबाट ध्वस्त हुन पुगेको प्रसंग उल्लेख गर्दै उनले खरानीबाटै उठ्नुपर्ने बाहेकको अर्को विकल्प नरहेकोले अब सबैले मनोबल उकासेर अघि बढ्नुपर्ने धारणा राखे।
मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था महासंघले उद्योगी व्यवसायीको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र यसैक्रममा निजी क्षेत्रको संरक्षणका लागि सरकारसमक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’ लाई प्रधानमन्त्रीले मन्त्रिपरिषदबाटै पास गर्ने आश्वासन दिएको उनले सुनाए।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्र यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सवबाट पनि आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे।
अध्यक्ष ढकालले यसप्रकारका मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्रश्रय दिन र मौलिक उपज, संस्कृति र परम्पराको जगेर्ना गरी स्थानीय प्रतिभाहरुलाई प्रेरणा प्रदान गर्ने काम गर्न आयोजकहरुलाई आग्रह पनि गरेका छन्।


