मान्म– कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राती लु१च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिप कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमूले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ। ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन’, प्रहरी प्रमुख रिमालले भने, ‘जिपमा सवार तीनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन।’



