काठमाडौं – इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीले इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। स्तानबुलमा शनिबार राति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। तर दोस्रो हाफको ६८ औं मिनेटमा सिटीले अग्रता बनायो। सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरेका थिए।
सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्दा उसले ट्रेबल उपाधि पनि हात पारेको छ। प्रिमियर लिगमा यसअघि म्यानचेस्टर सिटीले पनि ट्रेबल उपाधि जितेको थियो। सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब बनेको छ। इंग्लिस क्लबले ट्रेबल उपाधि जित्नका लागि च्याम्पियन्स लिगसँगै प्रिमियर लिग र एफए कप पनि जित्नुपर्ने हुन्छ।
सिटीले यसअघि नै प्रिमियर लिग र एफए कप जितेको थियो। सिटीले ट्रेबल जित्दा प्रशिक्षक रहे पेप ग्वार्डीओला। उनले यसअघि बार्सिलोनालाई पनि च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। उनी दुई पटक ट्रेबल जित्ने पहिलो प्रशिक्षक बनेका छन्। उनले अहिलेसम्म १७ उपाधि जितिसकेका छन्।
ग्वार्डीओला यो उपाधिसहित तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन्। यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका थिए।


