काठमाडौं। पछिल्ला समयमा होटल तथा रिसोर्टमा लगानी बढिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले धमाधम होटल तथा रिसोर्टमा लगानी बढाइरहेका छन्। पर्यटकीय गन्तव्य र प्रमुख सहरहरुमा अर्बौं लगानीमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ।
यसैगरी रुपन्देहीको ओमसत्यामा निजी लगानीमा चारतारे स्तरको म्याजेस्टिक होराइजन रिसोर्ट निर्माण भइरहेको छ। रिसोर्टको निर्माण हालसम्म ६७ प्रतिशत वित्तीय प्रगति भएको छ।होटल यही वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको छ।
रिसोर्ट बनाउन ९४ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। संस्थापकहरुले ६३ प्रतिशत स्वपुँजी लगानी गरिसकेका छन्।
रिसोर्टको व्यवस्थापनका लागि बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोर्टसँग समझदारी भएको छ। निर्माणाधीन होटलमा ८२ कोठाहरु रहेका छन्।
म्याजेस्टिक होराइजन रिसोर्ट प्राइभेट लिमिटेड २०२४ मा स्थापना भएको हो। निर्माणाधीन रिसोर्ट नेपाल भारत सीमा भैरहवा भन्सार विन्दुबाट ६ किलोमिटरको र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक सय मिटर आसपासमा छ। परियोजना विकासको मध्य चरणमा छ। रिसोर्टको सिभिल कार्य गतिविधिहरू उन्नत चरणमा रहेको छ।
रिसोर्टका मुख्य लगानीकर्ता पराग गोर्खाली रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार होटल तथा रिसोर्टलगायत अन्य पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले दुई खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन्।
जसमध्ये होटलमा मात्रै दुई खर्ब १९ अर्ब र ट्रेकिङ, ट्राभल, रिसोर्ट, माउन्टेनियरिङ र र्याफ्टिङमा कूल २९ अर्ब ७० करोड रुपैयाँ लगानी भएको छ। पछिल्लो समयमा मात्रै सात अर्ब ७६ करोड रुपैयाँ लगानी होटलमा थपिएको छ।


