काठमाडौँ: अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोली समूह चरणमै रोकिएको हो।
१४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले ब्याटिङमा निराशाजनक प्रदर्शन गर्यो। इनिङ सम्हालिन नपाउँदै नियमित रूपमा विकेट गुमाउँदा टोली १४ ओभर नपुग्दै ६८ रनमै सीमित हुन पुग्यो। कप्तान इन्दु बर्मा चोटका कारण बीचमै मैदानबाट बाहिरिएपछि नेपाली ब्याटिङ थप दबाबमा परेको थियो।
नेपालका तर्फबाट बिन्दु रावल र रोमा थापाले समान १४ रन जोडे भने रुबिना क्षेत्रीले १० रन बनाइन्। अन्य ब्याटरहरू लामो समय टिक्न सकेनन्। स्कटल्यान्डकी अब्ताहा मकसुदले आक्रामक बलिङ गर्दै तीन विकेट झारिन् भने कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले दुई–दुई विकेट हात पारिन्।
यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले सुरुवाती चरणमै दबाबमा राखेको थियो। पावरप्लेमै तीन विकेट झार्दै नेपालले स्कटल्यान्डलाई संघर्षरत बनाएको भए पनि अन्तिम ओभरसम्म टिकेर १४१ रनको लक्ष्य स्कटल्यान्डले दिएको थियो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिइन्। नेपाली बलिङमा मनीषा उपाध्याय चम्किँदै चार विकेट लिइन् भने रुबिना क्षेत्रीले तीन विकेट हात पारिन्।
यस प्रतियोगितामा नेपालले जिम्बाबेलाई पराजित गरे पनि थाइल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्डसँग पराजय भोग्दै दुई अंकमै सीमित रह्यो।
उता, समूह चरणका खेल सकिएसँगै सुपर सिक्समा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड अघि बढ्दा समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा प्रवेश गरेका छन्।
सुपर सिक्स चरणबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा आयोजना हुने महिला टी–२० विश्वकपमा सहभागिता जनाउने अवसर पाउनेछन्।


