बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाएको छ।
डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो। निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन्।
बिहान १० बजे देखि ४बजे सम्म बिक्रि वितरण हुने जानकारी दिएका छन्।
पछिल्लो साता भारतबाट समयमै सिलिन्डर नभित्रिएपछि अभाव चुलिएको गुनासो बढेको छ। विशेषगरी नेपाल ग्यासका उपभोक्ताहरूले सिलिन्डर नपाएको बताएका छन् भने नेपाल ग्यासका डिपोमा बिहानैदेखि उपभोक्ताको भिड लाग्ने गरेको छ। त्रिवेणी ग्यास अनामनगरका सञ्चालक भूपदेव श्रेष्ठका अनुसार ग्यास अभावका कारण विशेषगरी विद्यार्थीहरूले सास्ती भोगिरहेका छन्।










